१० लाखको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना
उदयपुर : रौतामाई गाउँपालिकाले १० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ। कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए।
पालिकाले विपद् व्यवस्थापन कार्यक्रमबाट ५ लाख, जनप्रतिनिधिहरुको पाँच दिनको सुविधा, कर्मचारीहरुको एक दिनको तलव गरी १० लाखको कोष स्थापना गरिएको उनले जानकारी दिए। कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताए।
पालिकाले कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै वडा-२ भुट्टार हेल्थपोष्टमा दुई वटा, वडा-६ रौतामा २ र वडा- ७ मुर्कुची हेल्थपोष्टमा २ वटा गरी ६ वटा क्वारेन्टाईन र वडा- ७ मा एक वटा आइसोलेसन वार्ड स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले जानकारी दिए।
उनले यसलाई थप गर्दै जाने योजना रहेको बताए। गाउँपालिकाका सबै स्वास्थ्य चौकी र आवतजावत हुने नाकामा हेल्प डेक्स स्थापना गरिएको अध्यक्ष खड्काले बताए। यसैगरी स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षा कवज पीपीई, ग्लोब, मास्क लगायताका सामग्रीहरु उपलब्ध गराईएको अध्यक्ष खड्काले बताए।
‘विदेशबाट आएकाहरुको खोजीका लागि प्रत्येक वडामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी टोली परिचालन गरेका छौ, अध्यक्ष खड्काले भने, ‘विशेषगरी विदेशबाट आएकाहरुको निगरानी र नाकामा कडाई गरेका छौ।' गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको नामवली अध्यावधि गर्ने काम गरिरहेको र स्वास्थ्य सचेतना जगाउने काम गरिरहेको बताए।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका चार वटा एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिए। एम्बुलेन्समा कोरोना भाइरस संक्रमित वा शंकास्पद मानिस भेटिएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरी पालिकाले निर्णय गरेको छ।