सुरक्षा सामग्री तयार गर्दै डडेल्धुरा अस्पताल
डडेल्धुरा : डडेल्धुरा अस्पतालले बिरामी जाँच गर्दा लगाउने व्यक्तिगत सुरक्षा सामग्री अस्पतालमै बनाउन थालेको छ । बजारमा चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पर्याप्तरुपमा नपाएपछि अस्पताले प्लास्टिकका गाउन, क्याप, बनाउन थालेको हो ।
कोराना भाइरस संक्रमण सुदूरपश्चिमको राजधानी धनगढीमा एकजनामा देखिएपछि चिकित्सकको सुरक्षाका लागि सामाग्री आफै उत्पादनमा लागेको डडेल्धुरा अस्पतालले जनायो । हाल उपलब्ध सामग्री पर्याप्त नभएका कारण पनि पूर्व तयारीस्वरुप थप सामग्री निर्माणमा जुटेको अस्पतालले जनायो । स्थानीय स्तरमा उत्पादन गरिएका प्लास्टिकका गाउन, क्यापले केही हदसम्म भएपनि बिरामीको उपचारका लागि स्वास्थ्य कर्मीलाई सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना भाइरसको संकास्पद बिरामी आएमा सोको उपचारमा स्वास्थ्य कर्मीका लागि हाल अस्पतालमा ११ वटा पीपीई रहेको भएपनि आवश्यकता अनुसार थप माग गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु जगदिश चन्द्र विष्टले बताए ।
संघीय अस्पतालको रुपमा रहेको सुदुरपश्चिमको एकमात्र डडेल्धुरा अस्पतालमा कोभिड १९ संक्रमित भएका बिरामीको स्वाब टेस्टका लागि उपकरण भने छैन । उनीहरुको घाटी नाकको स्वाब निकाली परीक्षणका लागि काठमाडौं नै पठाउनुपर्ने मेसु विष्टले बताए । सुदूरपश्चिमका कुनै पनि अस्पतालमा स्वाब परीक्षण हुँदैन।
नेपाल सरकारले लकडाउन सुरु गरेसँगै डडल्धुरा अस्पतालमा ओपीडी सेवा बन्द भएपछि अस्पताल सुनसान बनेको छ । अस्पताल आउनेदेखि अस्पतालबाट डिस्चार्ज भएपछि घर जानका लागि यातायातका सवारी साधन नपाउँदा समस्या हुने गरेको बिरामीको दुखेसो छ ।
दिनहुँ २ सयदेखि ३ सय जना बिरामी उपचारका लागि आउने गरेको डडेल्धुरा अस्पताल लकडाउन पछि कुनै दिन एक जना पनि बिरामी नआएको अस्पतालले जनायो ।
प्रतिक्रिया दिनुहोस !