दोब्बर गाडी भाडा तिर्दै घर फर्किए मजदुर
बागलुङ : जिल्लाका विभिन्न निर्माण क्षेत्रमा काम गर्न आएका बाह्य जिल्लाका श्रमिक मजदुरले ठूलो सास्ती र सकस व्यहोर्न बाध्य भएका छन् । देशमा विद्यमान कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि खानेपानी, सडक, भवन, विद्युतलगायतका निर्माण क्षेत्रमा काम गर्न आएका दाङ, रुकुम, रोल्पा लगायतका मजदुर समस्यामा परेका हुन् ।
नेपाल सरकारले गत चैत्र ११ गते कोरोनाको जोखिम रोक्न ७ दिनको लकडाउन घोषणा पछि खुल्ने र काम निरन्तर चल्ने आशामा बसेका उनीहरु लकडाउन लम्बिएर अनिश्चित बनेपछि निराश बनेका छन् । कोरोनाले अनिश्चयको वातावरण बनेपछि स्थानीय सरकार र प्रशासनको अनुमति लिएर चर्को गाडी भाडा तिरेर घर तर्फ लागेका छन् ।
स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्दै आएका दाङका १६ जना मजदुरको टोली ४५ हजार रुपैयाँमा गाडी रिजर्भ गरेर घरतर्फ लागेको मजदुर भरत यादवले बताए । काठेखोला गाउँपालिका ३ धम्जामा एक घर, एक धारा निर्माण कार्यमा ७ महिनादेखि काम गर्दै आएका रोल्पाको १० जनाको टोली पनि बुधबार २० हजार रुपैयाँमा जीप रिजर्भ गरेर घर तर्फ हिँडेको रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का ढोरबहादुर बुढाले बताए । 'अनौठो रोगले देश ठप्प भएपछि हामी कामबिहीन भयौं, एक सातामा त खुल्ला कि भन्ने थियो,' बुढाले थपे, 'अनिश्चित जस्तो लाग्यो, त्यसैले दोब्बर रकम खर्चेर बागलुङको सीमानासम्म पुग्छौं ।'
त्यहाँबाट रुकुम हुँदै थप ७ घण्टाको पैदल यात्रा पछि रोल्पाको थवाङ पुग्ने र त्यहाँ गाडीबाट थप ३ घण्टाको यात्रा गर्नुपर्ने अर्का मजदुर मंगलसिहं घर्ती सुनाए । यही बसिराख्दा काम नहुने र उता घर परिवार पनि कोरोनाका कारणले आत्तिन थालेपछि देशभित्रै धेरै टाढा भएपनि घर हिँडेको घर्तिको भनाई छ ।
बागलुङमा कोरोनाको जोखिम बढेकाले अलपत्र मजदुरलाई घर फर्कन कुनै रोकतोक नगरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए । 'यदी घर जाने अवस्था छैन भने सम्बन्धित निर्माण व्यवसायी र स्थानीय सरकारलाई आवश्यक खाद्यान्न व्यवस्थापन गर्न भनेका छौं,' प्रजिअ सैजुले भने, 'तर घर जानेका लागि सवारी पाससहित सहज व्यवस्था र समन्वय गरिदिएका छौं।'