कोरोना संक्रमितलाई अस्पताल लान खोज्दा एम्बुलेन्स चालक गायब
बागलुङ : कोभिड–१९ का नयाँ संक्रमितलाई अस्पताल ल्याउने क्रममा एम्बुलेन्स चालक नै गायब भएका छन्। बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनपछि संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी थियो । तर, बिरामी लिन जानपूर्व व्यवस्थापन गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स चालक एकाएक गायब भएको प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले बताए।
‘हामी प्रदेश स्वास्थ्य निर्देशनालयसँगको लामो छलफलपछि संक्रमितलाई धौलागिरी अस्पतालमै भर्ना गर्ने निर्णय पुगेर सोही अनुसार बिरामीको घर जाने तयारमा थियौँ’ प्रमुख गुरौले भने,‘तर अन्तिम समयमा चालकले आफूलाई रेडक्रसले सवारी चालकको नियुक्ति नदिएकाले जोखिम मोल्न नसक्ने भन्दै चाबी फालेर बिरामी बोक्न मान्नुभएन ।’
एम्बुलेन्सका चालक अस्पतालमै एम्बुलेन्सको चापी छाडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा सोही कार्यालयकै सवारी चालक रुद्र पराजुलीले राति १० बजेपछि रेडक्रसकै एम्बुलेन्समा संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो।
गत चैत १६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले नेपाल रेडक्रस सोसाइटी बागलुङको एम्बुलेन्सलाई पार्टेशन गरेर कोरोना संक्रमित बोक्ने निर्णय गरिए पनि एम्बुलेन्स चालकले गैरजिम्मेवारीपन देखाएको प्रमुख जिल्ला अधिकारी गौलोनच शैजुले बताए।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले भने आफ्नो एम्बुलेन्स चालक बिरामी भइ उपचारका क्रममा रहेको र केहि समयका लागि राखिएका सवारी चालकले कोरोना संक्रमित बिरामी बोक्न अस्विकार गरेको स्वीकार गरे । स्थानीय प्रशासनले कोरोना संक्रमित बिरामी बोक्नुपर्छ भनेर निर्देशनको शैलीमा आफूहरुलाई भने पनि चालकको सुरक्षा प्रबन्धको बारेमा संवेदनशील नभएको सभापति लामिछानेले बताए । राति अवेर धौलागिरी अस्पताल ल्याइएकी महिला र बागलुङ नगरपालिका–४ कुँडुलेकी किशोरीको अहिले उपचार भइरहेको छ ।