‘प्रेम शाश्वत तत्त्व हो’
‘प्रेम गर्छु भनेर हुने कुरा होइन। कतिबेला कोसँग प्रेममा परिन्छ थाहै नहुने। प्रेममा सबैको झुकाव हुन्छ। प्रेम दुई आत्माको मिलन हो। कोही मायालाई सम्बन्धको बन्धनसँग दाँज्छन्, कसैले अनुभूति मात्रै ठान्छन्। प्रेम शाश्वत हो। यो कहिल्यै मर्दैन’, गायिका तथा मोडेल सुशीला पाठक आफ्नो प्रेम बुझाइ सुनाउँदै थिइन्। उनी प्रेमको जन्म स्वतन्त्र भूमिमा हुने हुँदा बन्धन हुन नहुने तर्क राख्छिन्। ‘प्रेम आत्मदान हो’, उनको बुझाइ छ।
अविवाहित सुशीला आफ्नो कामलाई बुझ्ने, हौसला दिने, आफूलाई गाइड गर्न सक्ने जीवनसाथीको पर्खाइमा छिन्। प्रेमको बारेमा खुलेर गफ गर्ने उनी आफ्नो प्रेम जीवनबारे भने खुल्न चाहिनन्। अहिले गायनमै सक्रिय भइरहेको हुँदा बिहे र प्रेम गर्ने फुर्सद नभएको उनको भनाइ छ।
कोरोना भाइरसको त्रासमा उनी पनि घरभित्रै क्वारेन्टाइनमा छिन्। सरकारले लकडाउन गरेपछि उनको दैनिकी फेरिएको छ। उनी अहिले बाँकी रहेका पुराना काम गरिरहेकी छन्। रियाज गर्ने समय पुग्दैनथ्यो, अहिले बिहान उठ्नासाथ घण्टौं गीतको प्राक्टिस गरिरहेकी छन्।
धेरैभन्दा धेरै गीत सुन्ने, ध्यान योग गर्ने, सकारात्मक समाचार र गीत सुन्ने गर्छिन् उनी। फिल्म हेर्ने र किताब पनि पढ्छिन्। गायनमा टिक्न र निरन्तरता दिन कठिन रहेको बताउँने उनी परिवारको साथले केही वर्षदेखि नेपाली संगीत क्षेत्रमै छिन्। उनका ज्यान बढ्यो रे, सानीलाई, यो देशै खाने भै, होली र तीजका गीत चर्चामा छन्।
२०७२ सालमा उनको ‘मेरो दिलको राजा पाएँ’ बोलको एल्बम बजारमा आएको थियो। यसमा मनोजराजको संगीत र विष्णु गुरुङको शब्द थियो। त्यसयता उनले तीन दर्जन गीतमा स्वर दिएकी छन्। उनले गीत गाउनुका साथै केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन्। आफ्ना मात्रै गीतको भिडियोमा देखिएकी सुशीला मोडलिङमा जमेरै लाग्ने सोचमा छिन्।
सानैदेखि गीत गाउन रहर गर्थिन् उनी। स्कुल कलेजका सांगीतिक कार्यक्रममा भाग लिन्थिन्। रेडियो टीभीमा बज्ने गीत दुरुस्तै गाउँथिन्। स्कुलका शिक्षक र आमाबुवा पनि दंग पर्थे। नाच्न पनि हुरुक्कै हुने। अवसर पाएको बेला गायनलाई निरन्तरता दिँदै हुर्किन्।
झापाको शरणामतिमा जन्मिएकी पाठक संगीतमै करिअर बनाउन काठमाडांै पसिन्। उनी मनोजराज शिवाकोटी र शिलाबहादुर मोक्तानसँग संगीत पनि सिकिरहेकी छन्। परिवारकी कान्छी छोरी हुन् उनी। सबैको लाडप्यारमा हुर्केकी। जे भन्यो त्यही पुर्याइदियो परिवारले। यसैले पनि बाल्यकालमा अलि चकचके थिइन् उनी। साथीसँग खेल्न हिँड्ने र स्कुल जाने मात्रै काम। घरमा खासै दुःख नगरेकी सुशीला संगीतमा भने संघर्षको मैदानमै छिन्।
उनी संगीतमै केही गर्न क्लासिकल संगीत क्लास भर्ना भएकी थिइन्। पहिलो दिनको कक्षा उनका लागि विशेष छ। त्यो बेलासम्म उनलाई सारेगम, सरगम केही थाहा थिएन। सबै साथीले राम्रो गाउन जानिसकेका थिए। आफूले केही पनि नजानेको हुँदा खुब लाज लागेको थियो उनलाई। त्यो पल उनी कहिल्यै भुल्दिनन्।
कोही मायालाई सम्बन्धको बन्धनसँग दाँज्छन्, कसैले अनुभूति मात्रै ठान्छन्। प्रेम शाश्वत हो। यो कहिल्यै मर्दैन।
उनीबाहेक परिवारमा संगीत क्षेत्रमा लाग्ने कोही पनि थिएनन्, सबै जिरोबाट सुरु गर्नु पर्दा निकै गाह्रो भएको अनुभव छ उनीसँग। सुरुआतमा राम्रो शब्द नै नपाइने, राम्रा संगीतकारले अवसर नै नदिने, यतिसम्म कि अगाडि कसरी जाने सल्लाह दिने पनि कोही नभेटिने। यसले गर्दा पनि अगाडि बढ्न निकै गाह्रो भएको उनको अनुभव छ। नयाँलाई टिक्न र निरन्तरता दिन धेरै गाह्रो हुने अनुभव छ उनीसँग।
भन्छिन्, ‘नयाँ भन्नासाथ काम र गीत दिन नचाहँदैनन्, कसैले सही सल्लाहसमेत नदिने, मेहनत गरेअनुसार तत्कालै फल नपाइने, लगानी मात्रै डुबिरहनेजस्ता धेरै समस्या छन्। गीत चलेन भने त नयाँ आउने गायक गायिकालाई धेरै गाह्रो छ।’
‘गीतको अडियो भिडियो मेकिङ पनि महँगो छ। कमाइ नै छैन भन्दा हुन्छ। मेलापर्व र कार्यक्रमले धानिन्छन् कलाकार। घरबाट पैसा मागेर एल्बम निकालिरहन पनि त सधंै सम्भव छैन नि’, उनले भनिन्।
संगीत क्षेत्रमा लागेपछि सुशीलाले बुझेकी छन्, सफल हुन धैर्य आवश्यक छ। कस्ता गीत चल्छ भन्ने केही टुंगो हुँदैन। कहिले सोचेका गीत पनि गुमनाम हुन्छन् भने कुनै नसोचेको गीतले चर्चा दिलाउँछ। आफ्नै रहरले यो क्षेत्रमा आएकी उनलालाई निरन्तर काम गरे सफल भइने विश्वास भने छ।