नाम मात्रको राहत
जनकपुरधाम : गीता सदाको परिवारमा ६ जना सदस्य छन्। दिनरात गरी दुई छाक मात्रै खाए पनि डेढ किलोभन्दा बढी चामल एक दिनमा पकाउनुपर्छ। तर, उनको परिवारलाई गाउँपालिकाबाट राहतमा अहिलेसम्म मात्र ५ किलो जति चामल दिइएको छ। जम्मा डेढ किलो जति दाल, एक किलो आलु र एउटा नुनको प्याकेट सदा परिवारले पछिल्लो ३ साताको लकडाउनमा राहतवापत पाएका छन्।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-३ गजरिया टोलको मुसहर बस्तीमा बाँडिएको राहत सामग्री नाममात्रको छ। १५ घरपरिवार रहेको टोलमा कतिपय परिवारलाई राहत दिइएको पनि छैन्। ‘हमरासबके राहत कुछो नै देलकै (हामीलाई राहत केही दिइएन),’ टोलकी सरिता सदाले गुनासो गर्दै भनिन्, ‘जेकरा नाम लिखाएल है ओकरे भेटतै कहै हैं (जसको नाम लेखाइएको छ त्यसले मात्रै पाउने भन्छन्)।’
सरिताको झै गुनासो सीतादेवि सदाको पनि थियो। अन्नपूर्णकर्मीलाई हेर्नेबित्तिकै राहत बाँड्नेहरू नै आइपुगेको ठानेर सीताले रिसाउँदै भनिन्, ‘यीनिहरूले गरिबको मजाक बनाएका छन्। बन्दी भनेर नत कहीँ काम गर्न दिएका छन् नत राहत नै। यस्तोमा कसरी बाँच्नु ? ’ टोलमा राहत नपाएकाहरूको गुनासो चर्को थियो। राहत पाएकाहरू पनि असन्तुष्ट थिए। ‘यो चामलको भात लेदो जस्तो हुन्छ,’ निर्मला सदाले भनिन्, ‘त्यसमा पनि एति थोरै चामलले खिचडी बनाएर छोराछोरीलाई खुवाए पनि एक साता टिक्दैन।’
११ सय घरधुरी रहेको वडामा २७३ घरधुरी अति विपन्न र गरिब रहेको भनि वडा कार्यालयले पहिचान गरेको छ। तिनिहरूमध्ये हालसम्म १७३ परिवारलाई राहत बाँडिएको वडा कार्यालयले जनाएको छ। लकडाउनबाट प्रभावित मजदुर, श्रमिक, गरिब तथा आर्थिक रूपमा विपन्न किसानलाई राहत वितरण निर्देशिका-२०७६ अनुसार खाद्यान्न राहत वा अनुदान वितरण स्थलमा साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ। तर, स्थानीय स्तरमा वडाले कहीँ पनि साबुन वा स्यनिटाइजरको व्यवस्था गरेका छैनन्।
संघीय अर्थमन्त्रालयद्वारा जारी गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्डअनुसार प्रतिपरिवारले राहत स्वरुप चामल १० किलोग्राम, दाल तीन किलो, नुन दुई प्याकेट, खाने तेल दुई लिटर, साबुन चारवटा र चिनी दुई किलो पाउने छन्। तर स्थानीयले पूरा राहत पाएका छैनन्।
वडाध्यक्षको घरकै चामल राहतमा बाँडिदै
लक्ष्मीनियाँ गाउँपालिका-३ वडा कार्यालयको छतमा बिहीबार तीनचार जनाले भुस र किरा लागेको चामल केलाइरहेका थिए। करिब सात आठ बोरा चामल नजिकै राखिएको थियो भने राहत सामग्री बाँड्न ल्याएको झोलामा पनि त्यही चामल राखिएको थियो। वडाभरी राहत बाँड्नका लागि गाउँपालिकाले वडा कार्यालयलाई १५ क्वीन्टल चामल, १८ बोरा दाल, १० बोरा आलु र पाँच बोरा नुन उपलब्ध गराएको हो।
तर, वडाअध्यक्ष तेजकुमार यादव भने भुस लागेको चामल केलाउन लगाइरहेका थिए। ‘यस्तो चामल नै बाँड्नु हुन्छ ? ’ भन्ने प्रश्नमा वडाध्यक्ष यादवले भने, ‘यो मेरो घरबाट ल्याएको चामल हो यो म आफ्नै तरिकाले अरु गरिबहरूलाई बाँड्छु।’ राहत सम्बन्धी मापदण्डअनुसार राहत सामग्री खरिद गर्न वडास्तरमा बनाइएको समितिले सामग्री खरिद गरि वितरण गर्ने उल्लेखित छ। तर, लक्ष्मीनियामा भने वडध्यक्षले घरकै बिग्रिन लागेको चामल राहतको नाममा बाँडिरहेका छन्।