लकडाउनमा सडक विस्तार तीब्र
हेटौंडा : हेटौंडा-कुलेखानी-काठमाडौं सडकअन्तर्गत भीमफेदी कुलेखानी सडक फराकिलो बनाउने धमाधम भइरहेको छ। बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको उक्त मार्ग लकडाउनको समयमा बिस्तार कार्य तीव्र बनाइएको हो। बागमती प्रदेशसभा सदस्यहरूले उक्त सडक मर्मत र विस्तार गर्न प्रदेशसभा बैठकमा पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो।
लकडाउनको समयमा सवारी सञ्चालन नहुँने भएकाले भीमफेदीदेखि कुलेखानीसम्म साढे १५ किलोमिटर सडक विस्तारको काम तीव्र बनाइएको प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताए। भीमफेदी देउरालीसम्म ८ किलोमिटर १७ करोड रुपैयाँ लागतमा र देउरालीदेखि कुलेखानीसम्म साढे सात किलोमिटर १५ करोड लागतमा फराकिलो बनाउने काम भइरहेको हो। हाल करिब ४ मिटर मात्रै चौडाइ रहेको उक्त सडक साढे पाँच मिटर बनाउने र नाली थप्ने काम भइरहेको मन्त्री फुयाँलले बताए।
उनका अनुसार २०७७ फागुनसम्म कालोपत्रे गरिसक्ने लक्ष्य छ। कामको ठेक्का पाएको मोतिदान कन्ट्रक्सन कम्पनीले हाल देनिक ८ देखि १० घण्टा काम गरिरहेको भौतिक पूर्वाधार मन्त्रालयका सडक विभागका निर्देशक डा. सहदेव भण्डारीले बताए। ‘लकडाउन अगाडि सवारीसाधन चल्दा दैनिक ३ देखि ४ घण्टा मात्रै काम हुन्थ्यो, अहिले कुनै अवरोध नभएपछि कामले तिव्रता पाएको छ’, उनले भने।
तर, ती सवारी साधनहरुलाई भीमफेदीबाट कोगटे हुँदै सिस्नेरीबाट सञ्चालन गरी दैनिक १३ देखि १४ घण्टा का गर्ने योजना बनाइएको भौतिक पूर्वाधार मन्त्री फुँयालले बताए। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सडक विस्तारका लागि दुई खण्डमा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरी चैत्र पहिलो साताबाट काम सुरु गरेको थियो। सडक निर्माण अनुगमन गर्दै मन्त्री फुयाँलले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै सामाजिक दुरी कायम गरेर पञ्जा र माक्सको अनिवार्य ब्यवस्था गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।