वीपी प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी
धरान : बीपी प्रतिष्ठानको उपकुलपतिमा विराटनगरका डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन्। विराटनगरको निजी विराटमेडिकल कलेजका संचालकसमेत रहेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नियुक्त गरेका हुन्।
प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरी मुद्धा चलाएपछि निलम्बनमा परेका थिए। रौनियार निलम्बनमा परेपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त रहेको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रतिष्ठानको उपकुलपतिका लागि प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, मेडिसन विभाग प्रमुख तथा मुटु रोग विशेषज्ञ डा. संजिवकुमार शर्मा र गिरीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए।
स्वास्थयमन्त्री ढकालले सिफारिस गरेका मध्य खनाल र शर्मा कम्युनिष्ट पृष्टभुमिका मानिन्छन् भने नवनियुक्त उपकुलपति गिरी कांग्रेस निकटका हुन्। नेवेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मासँग असन्तुष्ट बनेर विराटमेडिकल कलेज संचालन गरेका गिरीले २०७४ को निर्वाचनमा शर्माको विरुद्धमा स्वास्थयमन्त्री ढकाललाई निर्वाचनमा सघाए पश्चात उनी उपकुलपति बनेको नेकपा नेताहरुको भनाई छ।
यता धरानबासीले भने निजी मेडिकलका संचालकलाई प्रतिष्ठानको उपकुलपति बनाएको भन्दै प्रधानमन्त्रीको निर्णयप्रति आपत्ति जनाएका छन्। महेन्द्र बहुमुखि क्याम्पसका प्रा. डा राजेन्द्र शर्माले निजी मेडिकल संचालक गिरीलाई प्रतिष्ठानको उपकुलपति बनाउनु निजी मेडिकल कलेजलाई फाइदा पुग्ने र दीर्घकालिन लगानीकर्ता हाबी हुने बताएका छन्।
नवनियुक्त उपकुलपति गिरीले प्रतिष्ठानलाई देशकै नम्बर १ बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने दाबी गरेका छन्। उनले आफुले कुनै गल्ती नगर्ने र गल्ती गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।