बीपीमा कोरोना परीक्षण भएका ४८ जनाको रिपोर्ट नेगेटिभ
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४८ जनाको कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षणे रिपोर्ट नेगेटिभ आएको छ। प्रतिष्ठानमा कोरोना भाइरसको
प्रयोगशाला सुरु भएसँगै एक सय ३१ जनाको स्वाबको नमुना परीक्षण सकिएको सहायक प्रवक्ता डा. अशोक ऐरले बताए। अहिलेसम्म प्रदेश १ र २ बाट आएको नमुना परीक्षमा रिपोर्ट नेगेटिभ आएको हो।
बिहीबार राति प्रतिष्ठानमा ४८ जनाको स्वाब परिक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये मोरङको टाँडीमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका ४१, उदयपुर जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका पाँच तथा मेची र कोशी अस्पतालमा भर्ना भएका एक÷एक जना बिरामीको स्वाबको परिक्षण नेगेटिभ आएको हो।
प्रतिष्ठानमा प्रदेश १ का विभिन्न जिल्लामा भर्ना भएका थप २९ जनाको नमुना संकलन गरेर परीक्षणको प्रकृयामा रहेको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए। जनशक्ति थप भएसँगै अब बीपीमा दैनिक ५० जनासम्मको नमुना परीक्षण गर्न सकिन्छ।
प्रतिष्ठानमा कोरोना संक्रमित विरामीकोे स्वाब परीक्षण गर्न माइक्रोबायोलोजी विभागका प्रमुख प्रा. डा. बसुदा खनाल, डा. नारायण भट्टराईलगायतका चिकित्सक र ल्वाब टेक्निसियनलाई परिचालन गरेको छ।