सकियो अनुदानित इन्डक्सन चुलो
काठमाडौं : चीन सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराएको इन्डक्सन (विद्युतीय) चुलोको मौज्दात सकिएको छ। लकडाउन अवधिमा अत्यधिक परिमाणमा बिक्री भएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रहेको इन्डक्सन चुलोको सम्पूर्ण परिमाण बिक्री भएको छ।
कम्पनीसँग ७ हजार ३ सय ४० थान इन्डक्सन चुलो लामो समयदेखि बिक्री नभएर मौज्दात थियो। लकडाउन अवधिमा खाना पकाउने ग्यास सहजरूपमा नपाएका उपभोक्ताले विकल्पको रुपमा इन्डक्सन चुलो रोजेका कारण सम्पूर्ण मौज्दात सकिएको कम्पनीको नायव महाप्रबन्धक मणिराज खनालले जानकारी दिए।
‘उपभोक्ताको रोजाइमा नपर्दा लामो समयदेखि चुलो थन्किएर बसेको थियो’, खनालले भने, ‘अहिलेको अवस्थामा सहज रूपमा ग्यास सिलिन्डर प्राप्त नभएपछि उपभोक्ताले बिकल्पको रूपमा यो चुलोलाई रोज्दा मौज्दात रहेका सम्पूर्ण चुलो सोमबारसम्म बिक्री भएको छ।’
खनालकाअनुसार ७ हजार ३ सय ४० मध्ये लकडाउनअघि २ सय मात्र बिक्री भएका थिए। बाँकी रहेको ७ हजार १ सय ४० चुलो लकडाउन सुरु भएको अवधिमा बिक्री भएको छ। कम्पनीले प्रति इन्डक्सन चुलो ४ हजार रुपैयाँमा बिक्री गरेको हो। एक थान इन्डक्सन चुलोसँग एक थान भाँडा सेट पनि कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको छ।
नाकाबन्दीको समयमा नेपाल सरकारको आग्रहमा चीन सरकारले झण्डै आठ करोड मूल्यबराबरको ११ हजार ३ सय थान इन्डक्सन चुलोे नेपाललाई उपलब्ध गराएको थियो। सरकारले तत्कालीन नेसनल ट्रेडिङ लिमिटेडलाई उक्त चुलो बिक्री गर्ने जिम्मा दिएको थियो। अत्यधिक मूल्यका कारण उक्त चुलोमध्ये एक थानमात्रै तत्कालीन समयमा बिक्री भएको थियो।
बाँकी ११ हजार २ सय ९९ थान चुलो विमानस्थलको पारवहन तथा गोदाम कम्पनीको लिमिटेडमा थन्केर बसेको थियो। ट्रेडिङले दुई सेट भाडावर्तन, एक थान चुलो र कमिसनसहित प्रारम्भिक चरणमा ११ हजार ९ सय ९६ रुपैयाँ मूल्य तोकेको थियो। भारतबाट सस्तो मूल्यमा आयात भएको यस्तै प्रकृतिको चुलोका कारण चीनले उपलब्ध गराएको यो चुलो बिक्री गर्न नेसनललाई निकै कठिनाई भएको थियो।
तत्कालीन समयमा व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले र समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले अर्थमन्त्रालय र आपूर्ति मन्त्रालयलाई तत्कालै आवश्यक गाठो फुकाएर सस्तो मूल्यमा बिक्री गर्न निर्देशन दिएपछि अर्थको सहमतिमा आपूर्तिले उपभोक्ता बिक्री मूल्य ४ हजार रुपैयाँ निर्धारण गरेको थियो।
नयाँ मूल्य निर्धारणसँगै चीनले रसुवा नाकामार्फट पहिलो चरणमा उपलब्ध गराएको एक हजार तीन सय थान चुलो केही साताअघि बिक्री भएको थियो। दोस्रो चरणमा विमानमार्फत चीनले उपलब्ध गराएको १० हजार थानमध्ये करिब साढे ७ हजारको संख्यामा चुलो मौज्दात थियो।
नेसनल खाद्य संस्थानमा बिलय भएपछि यसको बिक्रीको जिम्मेबार कम्पनीले पाएको थियो। विमानमार्फत आएको चुलोको मूल्य कायम गर्न अर्थ मन्त्रालयले लामो समयसम्म सहमति नदिँदा १० हजार थान विमानस्थलको गोदाममा करिब दुई वर्षसम्म थन्किएको थियो। यसरी गोदाममा लामो समयसम्म राखिँदा विलम्ब शुल्क(डेमरेज) नै डेढ करोड पुगेको थियो। सरकारले उक्त शुल्क मिनाहा गरेपछि मौज्दात रहेको चुलोको बिक्री गर्ने बाटो खुला भएको थियो।
छुटमा खाद्यान्न बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि विशेष छुटमा खाद्यान्न बिक्री गर्न सुरु गरेको छ। कम्पनीले चामल, गेडागुडी र फापरको मूल्यमा १० प्रतिशत छुट दिएर उपभोक्तालाई बिक्री गर्न सुरु गरेको हो।
मन्त्रिपरिषद्को बैठकले चैत १६ गते १० प्रतिशत छुट दिएर उपभोक्तालाई खाद्यान्न बिक्री गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कम्पनीको सञ्चालक समितिको गत् शुक्रबार बसेको बैठकले १० प्रतिशत छुट दिएर चामल, गेडागुडी र फापर बिक्री गर्ने निर्णय गरेको हो। कम्पनिका नायव महाप्रवन्धक श्रीमणिराज खनालकाअनुसार बैठकले बिक्री मूल्यको १० प्रतिशतले हुन आउने रकम सरकारसँग माग्ने निर्णय गरेको छ।
निर्णयअनुसार सोमबारदेखि कम्पनीले उपत्यकाको ५ स्थान रामशाहपथ, थापाथली, नख्खु, ललितपुर र भक्तपुरको सुर्यबिनायकस्थित बिक्री डिपोमार्फत छुटमा यस्ता बस्तु बिक्री गर्न सुरु गरेको छ। यस वाहेक नारायणघाट, धनगढी, पोखरा, बिराटनगर, नुवाकोट, धादिङसहित ३५ स्थानमा पनि छुट दिएर उपभोक्तालाई बिक्री गर्न सुरु गरेको हो।