भैरवनाथको मन्दिरमा ठड्याइने भयो सुनको लिंगो

भैरवनाथको मन्दिरमा ठड्याइने भयो सुनको लिंगो

भक्तपुर : आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्राको आज आइतबार चौथो दिन । आइतबार बिस्का जात्राको मुख्य जात्राअन्तर्गत लिंगोजात्रा पर्दछ। जसअनुसार भक्तपुर नगरपालिका ५ योसिंखेलमा लिंगो उठाउने दिन तर कोरोना भाइरसको कारण आज बिस्का जात्राको परम्पराअनुसार ५५ हात लामो लिंगो नठडिने भएको हो । काठको लिंगोका सट्टा भैरव नाइकेले लिंगो जात्राको प्रतीकको रुपमा आज सुनको सानो लिंगो ठड्याउँदै छन् ।

तर उक्त सुनको लिंगो पनि जात्राको विधिविधानअनुसार योसिंखेलमा नउठ्ने भएको भैरव नाइके कृष्णभक्त (माइला) छुकांले जानकारी दिए । योसिंखेलमा सर्वसाधारणको भीड हुनसक्ने सम्भावनालाई मध्यनजर गरी उक्त सुनको लिंगो भक्तपुर नपा ५ टौमढीस्थित भैरवनाथ मन्दिरभित्रै ठड्याइने उनले स्पष्ट पारे ।
‘बिस्का जात्राको विधिविधानअनुसार सुनको सानो लिंगो योसिंखेलमै उठाउने तयारी थियो’, भैरव नाइके छुकांले भने, ‘तर त्यहाँ उठाउँदा सर्वसाधारणको भीड लाग्न सक्ने भएकाले भैरवनाथ मन्दिरभित्रै उक्त लिंगो उठाउने निष्कर्षमा पुगेका छौं ।’

उनले राजोपाध्याय, जोशी र कर्माचार्य नाइकेले निकालेको साइतअनुसार आइतबार दिउँसो उक्त लिंगो उठाइने बताए ।

विश्वनाथले आफ्नै सामुन्ने हेर्न पाउने भए लिंगो जात्रा

बिस्का जात्राको किम्बदन्तीअनुसार बिस्का जात्राअन्तर्गतको लिंगो जात्रा हेर्न काशीबाट विश्वनाथ भक्तपुर आउँछन् । काशीबाट महादेवको विश्वरुप विश्वनाथ आफै लिंगो जात्रा हेर्न आएको भक्तपुर दरबारका तान्त्रिक गुरुहरूले सुइको पाउँछन् । विश्वनाथलाई शत्रुहरूको संहारकर्ता देवता मानिन्छ । त्यस्तै उनलाई वर्षा र सहकालको देवता पनि मानिन्छ । त्यसैले भक्तपुर राज्यको विजय र यहाँ निरन्तर वर्षा र सहकाल प्राप्तिको लागि काशी विश्वनाथलाई भक्तपुरमै राख्न भक्तपुरका राजालाई सुझाइन्छ । 

सोहीअनुसार राजाले आफ्ना मान्छे पठाउने निधो गर्छन् । तर मानवको रूपमा आएका काशी विश्वनाथलाई चिन्ने कसरी ? तान्त्रिक गुरुहरूले अरु मानिसभन्दा एक हात अग्लो हुने जानकारी दिन्छ । सोहीअनुसार गएका दरबारका मान्छेहरूले काशी विश्वनाथलाई भेट्टाउँछन् । उक्त कुरा काशी विश्वनाथले पनि पत्तो पाउँछन् । त्यसैले उनी जमिनमुनि गाडिएर अलप हुन खोज्छन् । यत्तिकैमा खेत गएर बिस्का जात्रा हेर्न आएका भक्तपुरका किसानले भिरेको हँसिया झिकेर जमिनमा गड्दै गरेका विश्वनाथको शीर छेदन गरी लिन भक्तपुर दरबारका मानिस सफल हुन्छन् । तैपनि छेदन गरिएको काशी विश्वनाथको शीर सातपटकसम्म उफ्रिन्छ । त्यसपछि ‘मलाई भक्तपुरको सातवटा बाटो भएको चोकमा मन्दिर बनाएर राख्नू’ भन्ने आकाशवाणी हुन्छ । सोही आकाशवाणीको आधारमा सातवटा बाटो भएको हालको टौमढीमा भैरवनाथको मन्दिर बनाएर विश्वनाथलाई राखिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।

सोही किम्बदन्तीअनुसार बिस्का जात्राको इतिहासमा पहिलोपटक काशी विश्वनाथकै मन्दिरभि उनकै लागि सुनको लिंगो उठाउन लागिएको हो । ‘काशी विश्वनाथ भक्तपुरको बिस्का जात्राको लिंगो जात्रा हेर्न आएको बताइन्छ’, भैरव नाइके छुकां थप्छन्, ‘त्यहीं काशी विश्वनाथको सामुन्ने यस वर्ष लिंगो जात्रामा सुनको लिंगो ठड्याउने भएका हौं ।’

यस वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन भन्दै बिस्का जात्रा औपचारिक पूजाआजामा मात्रै सीमित छ । सोहीअनुसार यस वर्ष भैरवनाथ मन्दिरबाट बाहिरिन पाएन । मन्दिरभित्रै सबै विधिविधान पूरा गरिने भैरव नाइके छुकांले जानकारी दिए ।

ठडिएन हात नभएको लिंगो

कोरोना भाइरसको कारण चैत मसान्तको बिहानै ठड्याइनुपर्ने भक्तपुर नपा ४ तालाक्वस्थित हात नभएको ज्याठा गणेशको लिंगो ठडिएन । हात भएको सुनको लिंगो उठ्याइने प्रवन्ध गरिँदा हात नभएको लिंगोजात्रा भने स्थगित गरिएको हो ।

बिहान हात नभएको ज्याठा गणेशको लिंगो ठड्याइसकेपछि मात्रै साँझ योसिंखेलमा हात भएको ५५ हाते लामो लिंगो ठड्याइने चलन यस वर्ष तोडिने भएको छ ।
हात नभएको करिब ५५ हात लामो उक्त लिंगो स्थानीय प्रजापति थरीहरुले मात्रै उठ्याइने चलन रहेको छ । त्यस्तै ढाल्दा पनि प्रजापतिहरु मात्रै सरिक हुने प्रचलन रहेको छ । भूकम्पले ज्याठा गणेश वरिपरिका घरहरु भत्किनुअघिसम्म घरघरका झ्यालभित्रबाट डोरीले तानेर उक्त लिंगो उठ्यान्थ्यो तर घर भत्किएपछि बाहिरैबाट उक्त लिंगो उठाइँदै आएको छ ।

लिंगो ठड्याउन कुलो बनाइएकोले उक्त लिंगो सजिलै ठड्याइँदै आएको थियो तर ज्याठा गणेशको लिंगो जात्राको इतिहासमा यस वर्ष पहिलो पटक उत्तः लिंगो नठडिने भएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.