मास्क बनाएर बाँड्दै महिला
भोजपुर : कोभिड १९ संक्रमणको जोखिमले मास्कको अभाव बढिरहेका बेलामा ग्रामीण महिलाहरू भने घरमै मास्क बनाउन थालेका छन् । मास्क अभावमा अस्वस्थ नबनोस् भन्दै साल्पासिलिछो गाउँपालिकाका ग्रामीण महिलाहरू मास्क बनाउने काममा जुटका हुन् ।
संक्रमणको जोखिम हुन नदिन र गाउँमा मास्कको अभावले संक्रमण फैलन नदिन हातैले सिलाएको मास्क बाँड्ने परोपकारी काममा लागेका हुन् । बजार र स्वास्थ्य संस्थामा मास्क सिद्धिन थालेपछि आफ्नै सिपले बनाएको मास्क सर्वसाधरणलाई निःशुल्क बाँड्न थालेको दोभानेका स्थानीय सिर्जना राईले सुनाइन् ।
‘यस्तो संक्रमणको घडीमा बजारसम्म मास्क खोज्न जाँदा पाइन्न, स्वास्थ्य संस्थामा छैन, अनि त आफैँले बनाउन थालियो’, उनले भनिन्, ‘आफूले सिकेको सिलाईकटाई सीपको उपयोग पनि हुने, गाउँलेलाई दिँदा भलो पनि हुने सोचले मास्क बनाउन थाल्यौँ।’ सिर्जना जस्तै दोभानेका ग्रामिण महिलाहरू आफूले बनाएको मास्क घरघरमै पुगेर बाँड्ने गरेका छन् ।
गाउँका सर्वसाधरण खेतबारीको मेलापात र अन्य समयमा हिँडडुल गर्दा संक्रमणको जोखिमबाट जोगिन मास्क वितरण गरिएको सुम्निमा महिला विकास संस्था दोभानेका संस्थापक अध्यक्ष जलवती राईले बताइन् । समूहका महिलाहरूले सिलाईकटाई सीपलाई व्यवहारमा उतारेर परोपकारी काम थालेको स्थानीय सुनाउँछन् । उक्त समूहले वडाका ९ सय बढी सर्वसाधरणलाई मास्क बाँडिसकेको राईले बताइन् ।