उदयपुरका ३९ जनाको कोरोना परीक्षण रिर्पोट 'नेगेटिभ'
उदयपुर : नोभेल कोरोना भाइरस (कोभिड- १९) को आशंकामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका थप २६ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी मातहतको रणशार्दुल गण बेलसोत क्याम्पको क्वारेन्टाइनमा राखिएका २६ जनाको रिपोर्ट आइतबार नेगेटिभ आएसँगै स्वाब परीक्षणमा हालसम्म पठाइएका ३९ जनाकै रिर्पोट नेगेटिभ आएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार गत बुधबार वेलसोतका चार महिलासहित २६ जनाको स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि विदेशबाट आएका त्रियुगा नगरपालिकामा ८ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट ४ जना र बेलका नपाबाट १ गरी १३ जनाको स्वाब परीक्षण पछि रिर्पोट नेगेटिभ आएको थियो ।
बिरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा संक्रमण देखा नपरेको प्रमुख सुवेदीले बताए । यधपि ढुक्क हुने अवस्था भने नभएको उनले बताए । 'अझैं पनि यसबीचमा छिमेकी मुलुकबाट आएका केही व्यक्ति लुकेर बसेका छन् भन्ने खबर आएको छ, हामी त्यसको खोजीमा छौं,' उनले भने ।
उनले स्वाब परीक्षण र प्रारम्भिक चरणको परीक्षण रिर्पोट दुबैलाई मिलाउँदा हालसम्म ६१ जना रिर्पोट नेगेटिभ आएको छ । शनिबार मात्र २२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटमार्फत परीक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएको हो । तर र्यापिड टेष्टमा कहिले कही फरक पनि आउने भएकाले २२ जनामध्ये केहीलाई पुनः स्वाब परीक्षण गरिने बताए ।
आरडीटी किट जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धि स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गरिएको उनले बताए ।
टोलीले रौतामाई गाउँपालिको मुर्कुचीका ४ जना, आँपटारका ४, चौदण्डीगढी नगरपालिकाको हडियाका ६ जना र त्रियुगा नगरपालिकाको मोतिगडाका ८ जना गरी २२ जनाको रगत परीक्षण गरिएको थियो । आरडिटी किटबाट रक्त परीक्षण गरेको १५ मिनेट भित्रै रिपोर्ट आईसक्ने प्रविधि भएकाले परीक्षण कार्य सहज र सरल रहेको उनले बताए ।
'यो प्रविधिबाट रगत परीक्षण गरेको १५ मिनेटमै रिपोर्ट आउँदो रहेछ,' सुबेदीले भने, 'त्यसैले केही दिनभित्रै स्वास्थ्यकर्मी टोली जिल्लाका सबै क्वारेन्टाइनमा परिचालन गरी परीक्षण गरिसक्ने योजना बनाउँदैछौं ।'
आरडीटी किटमार्फत परीक्षण गरिएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि घर पठाएर होम क्वारेन्टाइनमा थप सात दिन बस्नु पर्ने सुवेदीले बताए ।
आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएका मध्ये पुनः १० प्रतिशतको स्वाब परीक्षण गर्नुपर्ने जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए । उनले आरडीटी किटबाट रगतमा कोरोना पोजेटिभ देखिएमा अर्को चरणको परीक्षण 'स्वाब टेस्ट' गर्नुपर्ने बताए ।
'आरडीटी गर्दा र्यापिट टेस्ट रिपोर्ट नेगेटिभ देखिएमा उसलाई होम क्वारेन्टाइनमा पठाइन्छ,' उनले भने, 'तर,जसको रिपोर्ट पोजेटिभ देखिन्छ, त्यस्तालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गर्नुपर्छ ।'