जिल्लाभरि एउटा मात्रै थर्मल गन
ओखलढुंगा : टाढैबाट मानिसको तापक्रम थाहा पाउनका लागि प्रयोग गरिने थर्मल गनको ओखलढुंगा जिल्लाभरि नै अभाव भएको छ । थर्मल गनको माग अत्यधिक भए पनि हाल जिल्लामा एउटा मात्रै थर्मल गन सञ्चालनमा छ ।
खिजीदेम्बा गाउँपालिकाको लिम्ती नाकाको स्वास्थ्य सहायता कक्षमा उक्त थर्मल गन प्रयोगमा छ । थर्मल गन खिजीदेम्बा गाउँपालिकाले खरिद गरेर प्रयोगमा ल्याएको हो । ‘एउटा थर्मल गन बेलैमा जोहो गरेका थियौँ र अहिले सञ्चालनमा छ’, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले भने, ‘अरु खरिद गर्नका लागि काठमाडौँका चोकचोक खोज्दा पनि पाउन सकिएन ।’
खिजीदेम्बा गाउँपालिकामा ११ वटा थर्मल गन आवश्यक भए पनि गाउँपालिकासँग एउटा मात्रै रहेको गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ । थर्मल गन बजारमै अभाव देखिएपछि खरिद गर्न नसकिएको सो गाउँपालिकाले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग भएको एउटा थर्मल गन हर्कपुर नाकामा राखिए पनि अहिले काम लाग्ने अवस्थामा छैन । थर्मल गन बिग्रिएपछि तापक्रम नाप्न समस्या भएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताए । उनले जिल्लाभरि थर्मल गन अभाव भएको जानकारी दिए ।
खिजीदेम्बाबाहेक ओखलढुंगाका अन्य गाउँपालिकासँग थर्मल गन छैन । ‘थर्मल गन खरिद गर्नु ठूलो कुरा नभए पनि बजारमै सटेज भएपछि समस्या भयो’ , सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘अहिले हामीसँग एउटै थर्मल गन छैन ।’ कोरोना भाइरसको संभावित संक्रमणबाट सुरक्षित भए तापक्रम लिन सजिलो हुने र तापक्रम लिइएको व्यक्तिले पनि विश्वास गर्ने भएका कारण थर्मल गनको माग धेरै भएको नगर प्रमुख श्रेष्ठ बताउँछन् ।
प्रदेश सरकारले पनि अन्य मेडिकल उपकरण पठाए पनि थर्मल गन उपलब्ध गराएको छैन । थर्मल गन हुँदा विरामी तथा संकास्पदको टाढैबाट परिक्षण गर्न सकिने भएकाले स्वास्थ्यकर्मी पनि सुरक्षित हुने हुँदा जिल्लाभर थर्मल गनको माग छ ।