उदयपुरको मस्जिदमा लुकेर बसेका १६ जना सुरक्षा निगरानीमा
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा लुकेर बसेका १२ भारतीयसहित १६ जना भेटिएका छन् । दुई दिनअघि वीरगजको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अनुगमन गर्दा उनीहरूलाई मस्जिदमा लुकेर बसेको अवश्थामा फेला पारेको हो ।
उनीहरु लकडाउन हुनुभन्दा अगाडि नेपाल आएको बताए पनि स्थनीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आइ लुकेर बसेको दावी गरेका छन् । मस्जिदमा आएका १६ जना लडकडाउनको समयमा आएर लुकेर बसेको स्थानीयले बताएका छन् ।
मस्जिदमा रहेका १२ भारतीय परिचयपत्र भएको र अन्य ४ जना नेपाली भएको पाइएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए । उनीहरू मस्जिदमा बस्दा पनि समाजिक दुरी कायम गरि बसिरहेको बताए पनि स्थानीयले भने समाजमा घुलमिल गरिरहेको दावी गरेका छन् ।
लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको स्थानीयले पटक–पटक त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएको बताए । उनीहरु सबैको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको प्रजिअ पहाडीले जानकारी दिए ।
१२ जना भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको सोधपुछका क्रममा खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३–५ मा भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ ।
स्वाब सकलनसँगै सबैको ट्राभल हिस्टिरी पनि खोजिने प्रजिअ पहाडीले बताए । प्रशासनले जिल्लाका मस्जिद केन्द्र गाईघाट, देउरी, कटारी र जलजलेमा पनि अनुगमन गरेको बताएको छ । त्यहाँ कोही फेला नपरेको पहाडीले बताए । मस्जिदमा बस्दै आएका उनीहरुले लकडाउन सूरु हुनु पहिले चैत्र ४ गते आएको बताएका छन् । उनीहरु सबैलाई अहिले त्यहीँ सुरक्षा निकायको विशेष निगरानीमा राखिएको छ ।