लकडाउन उलंघन गर्ने ८१ सवारी कारवाहीमा
ओखलढुंगा : लकडाउनको बेला अनुमतिबिना चलाइएका ८१ सवारी साधन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले लगाएको लकडाउन उलंघन गर्ने सवारीलाई प्रहरीले जिल्लाका विभिन्न नियन्त्रणमा लिएको हो ।
प्रहरीले ५१ वटा मोटरसाइकल, २४ वटा बोलेरो र सुमो, ४ वटा ट्याक्टर तथा २ वटा टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मिलन बस्नेतले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन लकडाउन सकिएपछि फिर्ता दिने बताएको छ ।
लकडाउनको अवधिमा अत्यावश्यक उपभोग्य वस्तु ढुवानी र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ । लकडाउन अवज्ञा गरेर सञ्चलान हुने सवारी तथा केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले भीडभाड गर्ने, घुम्न जाने व्यक्तिलाई दैनिक पाँच घण्टा नियन्त्रणमा लिएर छाड्ने गरेको छ ।
संघीय सरकारको निर्देशन अनुसार अब लब डाउन उलंघन गर्नेमाथि मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।