लक्षण नै देखा नपरी कोरोना संक्रमण
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिदका कोरोना संक्रमितमा कुनै लक्षण देखा नपरेको चिकित्सकहरूले बताएका छन् । विराटनगरस्थित कारोना उपचार केन्द्रमा भर्ना गरिएका १२ जनामा लक्षण देखा नपरेपछि सामान्य वार्डमा राखिएको छ । समान्यत संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र स्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखा पर्दछन्, तर उनीहरू कसैमा पनि त्यस्तो लक्षण देखा नपरेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिइन् ।
सामान्य वार्डमा राखिएका उनीहरूलाई थप समस्या भएमा आइसियु र भेण्टिलेटरमा राखेर उपचार गर्ने तयारी गरिएको उनले बताइन् । यद्यपि संक्रमितको उपचारमा भने थप चुनौती बढेको उनको भनाइ छ । ‘प्रदेश १ मा हालसम्म संक्रमित देखिएको थिएन', डा. मिश्राले भनिन्, ‘तर अब खतराको घण्टी बज्यो, अप्ठ्यारो अवस्थालाई सबै मिलेर सामना गर्नुपर्दछ ।'
प्रदेश सरकारले सांक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी पनि जोखिममा रहने भएकोले उनीहरूलाई विराटनगर–७ मा रहेको जैन तेरापन्थको भवनमा राख्ने गरी छुट्टै आवासको व्यवस्था गरेको छ । प्रारम्भिक परीक्षण र सोधपुछका क्रममा कुनै पनि लक्षण नदेखिएकोले उनीहरुलाई नियमित चिकित्सकको निगरानीमा राखिने छ । लक्षण देखिए त्यस अनुसार औषधि प्रयोग हुने डा. मिश्राले बताइन् । सामान्य वार्डमा रहेका उनीहरूको १४ दिनपछि पुनः परीक्षण गरिने छ ।
‘तत्काल लक्षण देखिएको छैन्', उनले भनिन्, ‘कुनै पनि समयमा समस्या पर्नसक्छ त्यसैले स्वास्थ्यकर्मी सचेत रहँदै तयारी अवश्थामा राखिएको छ ।' उनीहरूको निगरानीका लागि ६-६ घण्टाको ड्युटी तय गरिएको छ ।
उनीहरुसँगै चार वटा एम्बुलेन्समा लगिएका चार जनालाई भने टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ । मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई संक्रमण देखापरेको र चार जनाको स्वास्थ्य परीक्षण रिर्पोट नेगेटिभ आएकाले क्वारेन्टाइनमा मात्र राखिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनीहरु सबैलाई उपचारको क्रममा शुक्रबार राति नै विराटनगर पठाइएको छ ।
प्रमुख सेवेदीका अनुसार उनीहरुको आरडीटी विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको थिएन । पछि कोसी अस्पतालमा स्वाब नमुना परीक्षण गर्दा संक्रमण देखिएपछि थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँको परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।
उनीहरुलाई प्रारम्भिक अवस्थामा त्यहीँअनुसार उपचार प्रक्रिया सुरु गरिने छ भने अलि सिकिस्त अवस्था भए अक्सिजन दिएर उपचार गरिने र अझ समस्या भए भेन्टिलेटरसहितको आईसीयू कक्षमा राखेर उपचार र रेखदेख गरिने अस्पतालले जनाएको छ ।