जिल्ला बाहिर रहेकाको विवरण संकलन, भारतमा रहेकालाई राहत
अछाम : जिल्लाको मेल्लेख र चौरपाटी गाउँपालिकाले भारतलगायत अन्य मुलुकमा रहेको आफ्ना नागरिकको विवरण संकलन गरेको छ। राहत वितरणसँगै गाउँ भित्रिनेको संख्या कति छ र उनीहरुका क्वारेन्टाइनको व्यवस्था गर्न विवरण संकलन गरिएको बताइएको छ।
आफ्ना नागरिकको अवस्थाबारे बुझ्न गाउँपालिकाका आठ वटै वडामा गरेको तथ्याङ्कका आधारमा गाउँपालिकालगायत बाहिर जिल्ला तथा भारत लगायत अन्य मुलुकमा कामको शिलशिलामा बाहिर गएकाको तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहोराले जानकारी दिए। गाउँपालिकाले संकलन गरेको तथ्याङ्क अनुसार ३ हजार ८ सय ८९ घरदुरीका ५ हजार ९ सय ९३ भारतमा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। यस्तै ४९ जना कामको शिलसिलामा अन्य मुलुकमा रहेको गाउँपालिका अध्यक्ष बोहोराले बताए। गाउँपालिकाका २८ हजार ३ सय ९६ जनसंख्या रहेको छ। वडा नं १ ऋषिदका २ सय ३४ घरधुरीका ६ सय ४१ जना, वडा नं.२ डाँडासिरीका १ सय ३२ घरधुरीका २ सय २२ जना, वडा नं.३ ठाँटीका २ सय ९० घुरधुरीका ७ सय २६ जना र वडा नं.४ कुष्कोटका ५ सय १८ घरधुरीका १ हजार ३३ जना भारतमा रहेका छन्।
यस्तै वडा नं.५ विन्देवासीनीका २ सय २३ घरधुरीका ४ सय ८३ जना, वडा नं.६ शोडषाका ३ सय ८३ घरधुरीका १ हजार १ सय ५७ जना, वडा नं.६ नन्देगडका ४ सय २१ घुरधुरीका ९ सय १६ जना र वडा नं.८ हात्तिकोटका २ सय ७० घरधुरीका ८ सय १९ जना कामको शिलशिलाका भारतका विभिन्न शहरका रहेको गाउँपालिका अध्यक्ष बोहोराको भनाई छ। अध्यक्ष बोहोराले प्रवासबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राखिने पनि जानकारी दिए।
त्यस्तै मेल्लेखले भारतमा अलपत्र परेका आफ्ना नागरिकलाई राहत वितरण गर्न पनि सुरु गरेको छ। भारतको हरियाणमा समस्यामा परेका आफ्ना पालिकाका ३६ जनालाई खाद्यान्न वितरण गरेको अध्यक्ष बोहोराको भनाई छ। उनले भने 'म आफ्ना नागरिकसँग फेसबुक भाईबरबाट निरन्तर सम्पर्कमा छु। उनीहरुको पहुँच दुतावाससँग पुग्दैन्। बढीजस्तो होटलमा काम गर्ने लकडाउनका कारण समस्यामा छन्। सबैसँग सम्पर्कमा छु'।
यसैगरी चौरपाटी गाउँपालिकाले आफ्ना भारतलगायत अन्य मुलुकमा रहेकाको तथ्याङ्क सार्वजनिक गरेको छ। गाउँपालिकाका सात वटै वडामा चैत्र २३ देखि २५ गते सम्म संकलन गरेको विवरण अनुसार ४ हजार ९ सय ६९ घरधुरीका २७ सय ९३ महिला र ५ हजार ४ सय २५ पुरुष गरी ८ हजार २सय १८ भारतमा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। यस्तै २ महिला र ६५ जना पुरुष गरी ६७ जना कामको शिलसिलामा अन्य मुलुकमा, ७४८ महिला, १० हजार५२ पूरुष गरी १८ सय नेपालका अन्य जिल्ला बाहिर रहेको छन्।
गाउँपालिकाका जम्मा ३२ हजार ३ सय ३१ जनसंख्या रहेकोमा हाल पालिकाका सात वटै वडामा १२ हजार ३ सय १७ महिला र ७ हजार ८ सय ७४ पुरुष गरी २० हजार १ सय ९१ जनसंख्या मात्र रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगानाले बताए। हाल पालिका बाहिर १२ हजार १४० जना जिल्ला बाहिर रहेकाले लगडाउन खुल्ने बित्तिकै घर फर्किन सक्ने भन्दै पालिकाका सात वटै वडामा क्वारेन्टाइन स्थापना गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जैशी ढुंगानाले बताए।
प्रतिक्रिया दिनुहोस !