चार महिनाअघि नेपाल आएकामा कहाँबाट सर्‍यो कोरोना ?

चार महिनाअघि नेपाल आएकामा कहाँबाट सर्‍यो कोरोना ?

विराटनगर : शुक्रबार कोरोना भाइरस (कोभिड १९) पुष्टि भएका १२ जनाको पीसीआर विधिबाट विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नै पोजेटिभ रिपोर्ट आएको थियो। तर, अन्तिम परीक्षण र प्रमाणित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै गर्ने नियम भएकाले प्रदेश १ मा उक्त रिपोर्ट सार्वजनिक गरिएन र काठमाडौं पठाइयो।

प्रदेशका केही मन्त्री र अस्पताल स्रोतले यो जानकारी भित्रभित्रै फैलाइरहँदा प्रदेशका सबैको ध्यान स्वास्थ्य मन्त्रालयले दैनिक गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा थियो। तर ‘प्रेस ब्रिफिङ’मा उदयपुरको कुनै कुरा नआएपछि भ्रम पो हो कि भन्ने धेरैले आशंका गरे।

अन्नपूर्ण पोस्ट्को अनलाइन संकरणमा समाचार आएपछि अन्य मिडियाले पनि चासो दिए र साँझ मात्रै मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजबाट उदयपुरका १२ जनाको उमेरसहित चितवनको समेत जोडेर पोजेटिभ भएको रिपोर्ट सार्वजनिक गर्‍यो। एकैपटक १२ जनाको रिपोर्ट सार्वजनिक भएसँगै प्रदेश १ का तराईका क्षेत्रका नागरिक त्रसित छन्। तराईका जिल्लामा धेरै मस्जिद रहेको र लकडाउनको समयमा पनि विभिन्न स्थानबाट ती ठाउँमा नयाँ नागरिक आएर बसेकाले मस्जिद आसपासका नागरिक अलि बढी आतंकित बनेका हुन्।

मंसिर २५ गते नै भारतको जोगबनी नाका हुँदै विराटनगरबाट नेपाल प्रवेश गरेका उनीहरू मोरङ, सुनसरी, सप्तरी र उदयपुर जिल्लामा रहेका मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएको खुलेको छ। उनीहरूको रिपोर्ट पोजेटिभ आउनासाथ स्थानीय तह र प्रहरीले संकलन गरेको उनीहरूको प्रारम्भिक यात्रा विवरणअनुसार संक्रमितहरू नेपाल प्रवेश गरेर पुनः भारत गएका छैनन्।

प्रारम्भिक तथ्यांकअनुसार नेपालभित्रैबाट उनीहरूमा कोरोना संक्रमण भएको देखाएको उदयपुरको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा बताउँछन्। ‘हामीले उनीहरूको ट्राभल हिस्ट्री खोजिरहेका छाँै, उनीहरूको भनाइ र रेलको टिकट हेर्दा उनीहरू मंसिरबाट भारत गएका छैनन,’ प्रमुख थापाले भने, ‘उनीहरू कहाँ–कहाँ पुगे÷कसलाई भेटे अझै खोजिरहेका छौँ।’

११ डिसेम्बर अर्थात् मंसिर २५ गते जोगबनीसम्म रेलमा आएका १२ जना उनीहरूले नेपाली ४ जनासहित मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न स्थानमा घुमेको भेटिएको छ। मंसिर २५ गतेबाट मोरङ र सुनसरीको विभिन्न मस्जिदमा आयोजित धार्मिक कार्यक्रम र प्रवचनामा सामेल भएका उनीहरू फागुन २ गते सप्तरी पुगेका थिए। मोरङको विराटनगर, सुनरीको दुहबी र इटहरीको मस्जितमा सात दिन बसेर आठौँ दिन सप्तरीको बोदेबरसाइन नगरपालिकामा उनीहरू पुगेको पाइएको बेलकाका प्रमुख थापा बताउँछन्।

१६ जना नै सप्तरीको बोदेबरसाइन नगरपालिका–५ को जाजर भन्ने स्थानमा लागेको इस्टि पर्वमा फागुन ३ देखि ५ गतेसम्म बसेको उनीहरूले नै बताएका छन्। उनीहरू सप्तरीको पनि विभिन्न मस्जिदमा पुगेर धार्मिक कार्यक्रममा सहभागी भएको बताइएको छ। त्यसपछि सप्तरीको फत्तेपुर हुँदै उदयपुर छिरेका उनीहरू नेपालमा लकडाउन भएपछि भारत फर्कन नपाएको बताउँछन्। ‘४० दिन नेपाल रहने, सप्तरीमा एउटा विवाहमा पनि सहभागी हुनु थियो तर विवाह रोकिएपछि हामी फर्कने बेला लकडाउन भएकाले फर्कन पाइएन,’ संक्रमितसँगै हिँडेका क्वारेन्टाइनमा बसेकामध्ये एक जनाले भने अन्नपूर्णसँग भने, ‘कहाँबाट सर्‍यो थाहा छैन।’

उदयपुरको चौदणी नगरपालिका–५ को सिवाई भन्ने स्थानमा मदर्शामा केही दिन बिताएका उनीहरू चैत ४ गते त्रियुगा नगरपालिका–३ को भुल्केमा रहेको मस्जिदमा पुगेका थिए। सो समयदेखि त्यहीँ बसेपछि स्थानीयको सूचनाका आधारमा प्रहरीसहित स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएर वैशाख २ गते र्‍यापिड परीक्षण गराएका थिए। र्‍यापिडमा नेगेटिभ आए पनि आशंकामा स्वाब परीक्षण गर्दा बिहीबार साँझ उनीहरूको रिपोर्ट विराटनगरस्थित कोसी अस्पतालले पोजेटिभ देखाएको हो।

चिकित्सक भन्छन्, ‘आत्तिएर किन विराटनगर ल्याएको ? ’

कोरोना पुष्टि भएपछि उदयपुरमा एकै ठाउँ रहेका सबै जनालाई शुक्रबार रातारात विराटनगरस्थित प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालमा ल्याइएको छ। तर, चिकित्सक भने आफूहरूसँग समन्वय नै नगरी ल्याएको भन्दै असन्तुष्ट बनेका छन्।

उनीहरूको कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था नबिग्रिएकाले आत्तिएर रातारात अस्पताल नै भर्ना गरिहाल्नुपर्ने अवस्था नभएको चिकित्सक बताउँछन्। ‘शुक्रबार साँझ मन्त्रालयले सार्वजनिक गर्‍यो, शनिबार सबै तयारीका साथ ल्याउँदा पनि हुनेमा रातारात चिकित्सक पनि तयारी हुन नपाई चिन्ताजनक बिरामीसरह उनीहरूलाई ल्याउन गलत थियो,’ अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मिश्राले भनिन् ‘उदयपुरबाट पनि पन्छाउन हतार गरेजस्तो देखियो।’

मस्जिदमा रहेका कोरोना पोजेटिभ १२ र नेगेटिभ देखिएका चार जनालाई नै एकैपटक चारवटा एम्बुलेन्समा राखेर विराटनगर ल्याउनु झन् गम्भीर गल्ती भएको डा. मि श्रा बताउँछिन्। ‘उदयपुरको प्रशासनको हतारो देखियो, मन्त्रालयको समन्वय पनि देखिएन, पोजेटिभ र नेगेटिभलाई एकैपटक ल्याउनु नै गलत थियो,’ उनले भनिन्।

प्रदेश एक सामाजिक विकास मन्त्रालयले समेत सो सन्दर्भमा समन्वय हुन नसकेको जनाएको छ। उदयपुर जिल्लाले प्रदेश सरकारसँग समन्वय नगरी संक्रमित र सामान्य दुवैलाई राति नै विराटनगर पठाएको मन्त्रालयले उल्लेख गरेको छ। संक्रमितलाई अस्पतालमा राखेर मध्यरातमा नेगेटिभ देखिएकालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइन पुर्‍याइएको छ।

नेगेटिभ देखिएकालाई उदयपुरमै राख्न मिल्ने भए पनि उदयपुर प्रशासनले बिना समन्वय विराटनगर पठाउने काम गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरे बताउँछन्। ‘अस्पतालले पोजेटिभ बिरामी लिने हो तर हिजो पोजेटिभसँगै ४ जना नेगेटिभ भएकालाई समेत सँगै पठाएको देखियो, यो त सरासर जिल्लाले पन्छाउने काम गरेको देखिन्छ,’ मन्त्री घिमिरेले भने।

संक्रमितको अवस्था सामान्य

कोरोना पोजेटिभ देखिएका १२ जना संक्रमितको अवस्था सामान्य छ। उनीहरूमा कोरोना संक्रमणको बाहिरी लक्षण केही नदेखिएको अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मि श्राले जानकारी दिइन्। ‘संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखा पर्ने गर्छ तर उनीहरू कसैमा पनि त्यस्तो लक्षण देखिएको छैन,’ डाक्टर मि श्राले भनिन्।

सामान्य वार्डमा राखिएका उनीहरूलाई थप समस्या भएमा आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी गरिएको उनले बताइन्। यद्यपि, संक्रमितको उपचारमा भने थप चुनौती बढेको मि श्राको भनाइ छ।

संक्रमित बिरामी राख्न विराटनगरमा सय शड्ढया क्षमताको अस्पताल तयारी छ। यहाँबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बिरामी पठाउन सक्ने व्यवस्था मिलाएको प्रदेश १ सरकारले जनाएको छ। बिरामी उपचारका लागि विशेषज्ञ चिकित्सक टोलीको समेत अभाव हुन नदिन प्रदेश १ ले पूर्ण तयारी गरेको मुख्यमन्त्री शेरधन राईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.