पाकिस्तानी नागरिक कपिलवस्तुको क्वारेन्टाइनमा
कपिलवस्तु : शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा राखेको छ । विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेकजाँच गर्दा ३६ वर्षीय शैयद नोमान वसारद लुकेको अवस्थामा फेला पारेको थियो ।
पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेको छ । उनको र्यापिड टेस्ट गर्दा भने रिर्पोट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले बताए । उनको स्वाब परीक्षणको पनि तयारी गरिएको छ ।
पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा नेपाल भित्रिएका थिए । उनको भिसाको म्याद पनि आइतबार (आज) सकिएको छ । उनीसँग रहेको भिसा र कागजपत्र चेकजाँच गर्दा वैध रहेको र उनको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । पाकिस्तानी नागरिक फेला परेपछि यस सम्बन्धमा भने पाकिस्तान राजदूतावासले विशेष चासो लिएको एक सरकारी अधिकारीले बताए ।