निरिह नागरिकका नाममा एउटा तार
देश कोरोना भाइरसविरुद्धको लडाइँमा छ । भाइरसको विस्तार कम गर्न लकडाउन गरिएको छ र सरकार साना मसिना कुरा नउठाउन भनिरहेछ । तर अफ्ठेरो कस्तो छ भने सरकारलाई झिना मसिना लाग्ने कुराहरु कहिलेकही नागरिकका लागि अत्यावश्यक भइदिन्छन् । जस्तो कि आधारभूत ओखतिमूलो, खाद्यान्न र तरकारी, बच्चहरुका लागि दूध र यस्तै यस्तै । हाम्रा हाकिम र तिनका हाकिमको अगाडि यो अफ्ठेरामा पनि अनेक सुविधा छन्, गाडी छ , गाडी चलाउन पास छ, किनमेलका लागि सहयोगीहरू छन् र हिँडडूल सहज बनाउन बर्दी छ !! आम मानिससँग के छ ? तीसँग केवल निरिहता छ ! म मेरो निरिहता पोख्न यो लेखिरहेछु !
बैशाख ७ गते बिहानै मेरा दुई बहिनी आफ्नी वृद्ध हजुरआमाका लागि दमको औषधि किन्न स्कुटरमा निस्किए । रानीबारी चोकको पुलिस विटले स्कुटर समात्यो । बहिनील स्कुटर समात्यो भनेर फोन गरेपछि म पुलिसविटमा गएँ । मेरो निरिहता यहीँबाट सुरु भयो ।
झण्डै ३ फिटको दुरीमा उभिएको मसँग एक इन्स्पेक्टर हाते माइकबाट कुरा गर्दै थिए । माइकको चर्को स्वरले मेरो कान चर्कंदै थियो । मेरा तीन अपराध थिएः मास्क नलगाउनु , पुलिसले पक्रिएको स्कुटर लिन घरबाट ३ मिनेटको दुरीमा रहेको विटमा जानु र पुलिसलाई नसघाउनु ! सुरुमा पुलिसले मास्क लगाएर आउन भनेर मलाई फर्कायो । म एउटा कपडाको टालो मुखमा बाधेर फेरि गएँ । आजभोलि बजारम सहज पाइने मास्क एउटा कपडाको टालो न हो ।
अनि यसपछि मेरो अर्को अपराध थपियो– म लकडाउन उल्लङ्घनकर्ता भएँ । मान्छे पक्रिने सनासोले मलाई पक्रिइयो र हल्लाउन थालियो ! इन्स्पेक्टर साहेब एउटा कपडाको टालो च्यापुमा बाँधेर हाते माइकबाट मलाई चुप लागेर बस्न र लकडाउन उल्लङ्घन नगर्न सम्झाउँदै थिए । म बबुरो अर्को कपडाको टुक्रोले टालिएको मुखबाट स्कुटर छोड्न र अत्यावश्यक काममा नरोक्न अनुरोध गर्दै थिएँ। (सुरक्षित दुरी बनाउन प्रहरी मसँग ४ फिट परबाट माइकमा बोल्दै थिए । म छिमेकीसँग कसरी बोल्नु होला ? )
एकछिनमा मेरा परिवार पनि विटसम्म पुगे ! २ मिनेटको दुरीमा रहेको विटमा छोरो पक्रिइएपछि परिवारको सोधीखोजी स्वभाभिक नै थियो । मेरो बुवासँग केही सवाल जवाफपछि म छुटेँ, स्कुटर भने प्रहरी कब्जामै रह्यो । घर फर्किइएपछि मैले प्रहरीको नेतृत्व र गृह मन्त्रालयका साथीलाई घटना वृत्तान्त सुनाएँ । त्यसलगत्तै काठमाडौँका डिआइजी साबसँग कुरा हुँदा स्कुटर लिन जान भन्नुभयो । म गएँ , फेरि पनि गिरफ्तारीबाट स्कुटर छुटेन ! मैले सोही विटबाटै डिआइजी सावलाई फोन गरेँ र त्यो फोनमा सम्बन्धित प्रहरी मित्रले कुरा गर्नसमेत तयार हुनु भएन । मैले अकस्मात मेरो निरिहताको गुरुत्व बोध गरेँ ।
यसको झण्डै एक घण्टापछि बहिनी गएर स्कुटर लिएर आई । औषधि आयो, स्कुटर आयो, र केहि अनुभवपछि मेरो तत्कालको समस्या हल भयो । नागरिकको गुनासो सुनेर समस्या हल गरिदिन प्रयत्न गरिदिनुभएकोमा म काठमाडौँ डिआइजी, प्रहरी संयन्त्रका अरु मित्र र गृह मन्त्रालयका साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । उहाँहरुको सद्भावले मेरो दुःख साँच्चै कम भएको छ ।
यस अनुभवले केही प्रश्नहरु सिर्जना गरेका छन् । प्रहरी हामीलाई भन्छ, हामी तपाईंको सेवाका लागि हो । त्यसकारण हामीसँग केही विशेषाधिकार छन् ! जस्तो म मानिसलाई मौखिक आदेशका भरमा सडकमा उभ्याउन सक्छु । म लकडाउनमा पनि समूहमा हिँड्न सक्छु । म मास्क नलगाउन सक्छु तर तपाईंले मास्क लगाउनु पर्ने छ ।
निश्चय नै प्रहरी हाम्रो सेवामा छन् र यसका लागि नागरिक प्रहरीसँग कृतज्ञ छ । तर के एउटा किसान हाम्रो सेवामा छैन ? उसले उब्जाएको अन्नले हाम्रो जीवन धानिएको छैन ? के एउटा मजदुर हाम्रो सेवामा छैन ? उसको सीप र श्रमले तपाईं हाम्रो जीवन जीवनजस्तो भएको हैन ? यो संकटमा देश देख्न आतुर ती सबै नागरिकहरू जसले पठाएको रेमिटेन्सले यो देश चलेको छ, ती तपाईं हाम्रो सेवामा छैनन् ? यस संसारमा कुन त्यस्तो प्राणी छ जसले अरुको सेवा गर्दैन ? सबैले गर्छन् । त्यसो भए किसानमा नआउने, मजदुरमा नआउने, वा अरु कुनै सामान्य जनमा नआउने घमण्ड प्रहरीलाई किन आउछ ?
हाम्रो सामाजिक संरचनामा, हाम्रो राज्य प्रणालीमा के यस्तो त्रुटी भयो कि कसैमा अरुको सेवा गरेका कारण अहंकार पैदा हुन्छ र कोही भने आफ्नै घर जानसमेत नसक्ने गरी निरिह हुन्छन् ?
एक समय हाम्रो राजनीतिक आन्दोलनमा यस्ता मानिसको वाहुल्यता थियो जो देश र जनताप्रति समर्पित थिए । हाम्रो आन्दोलनको हरेक मानिसलाई यसकारण आत्मगौरव थियो । विस्तारै हामीलाई लाग्यो हामी मुक्तिदाता हौँ र सामान्यजन सामान्यजन हुन् । यसपछि के भयो ? हाम्रो आन्दोलनका नेताहरू नै विगत र आजको पार्टी देखेर छक्क परिरहेको बताउँछन् ।
इतिहासमा विरलै प्राप्त हुने बहुमत भएको सरकारको प्रधानमन्त्री 'सरकारका राम्रा कामहरूको' सही प्रचार गर्न एकजना पनि मानिस छैनन् भनेर प्रश्न गरिरहन्छन् ! एक नेता भ्रष्टाचारको विषय उत्तरित गर्दा प्रश्न गर्ने मानिस नजन्मँदै म क्रान्तिमा होमिइसकेको थिएँ , जेल परिसकेको थिएँ भन्छन् । अनि एउटा प्रहरी औषधि किन्न जादा मैरै सेवाका लागि मलाई सनासोले चेपेर राख्छ । सेवाभावका कारण घमण्ड र अहम पैदा भएपछि के हुन्छ भन्ने जान्नका लागि नेपाली कम्युनिष्ट आन्दोलन एउटा सानदार उदाहरण हो । सेवा भावका कारण पैदा हुने अहम भावले हाम्रो प्रहरी संगठन कता जाँदैछ ? यसले हाम्रा अरु संरचनाहरुलाई कता लैजान्छ ? सल्लाह गर्ने समय आएन र ?
ओखती किन्न जाँदा रानीबारी विटमा मलाई सनासोले चेपेर लौरोले घोच्दै भाइरस शास्त्र पढाउने ती प्रहरी इन्स्पेक्टरप्रति म कृतज्ञ छु । ती नभएका भए मेरा मनमा यी प्रश्न उठ्ने थिएनन् !
साँच्चै पूरै पुलिस संगठन 'पुलिस दाइ'बाट साँच्चैको 'प्रहरी हाम्रो साथी' मा फेरिन कति समय लाग्ला है ? अनि लकडाउन र यो खुलेपछि रोजीरोटीमै व्यस्त हुनुपर्ने हामीले हाम्रो जीन्दगीमा प्रभाव पार्ने यी र यस्ता अरू थुप्रै प्रश्नमा छलफल कहिले गर्ने होला ? कसरी गर्न होला ?