जनप्रतिनिधि र नेताबाटै कोरोना जोखिम बेवास्ता
प्यूठान : स्वास्थ्य सामग्री वितरण गर्न स्थानीय तहमा पुगेका नेकपा प्यूठानका नेता र स्थानीय तहका जनप्रतिनिधिले कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै स्वास्थ्य सामग्री वितरण कार्यक्रम गरेका छन् । उनीहरुले न्यूनतम सामाजिक दुरीलाई समेत ख्याल नगरी स्वास्थ्य सामग्री वितरण गरिरहेका हुन् । कार्यक्रममा जुटेका अधिकांशले मास्कको प्रयोग गरेका छैनन् ।
नेकपाका नेता बामदेव गौतमले पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित अन्य सहयोगीबाट जुटाएर पठाएको स्वास्थ्य सामग्री वितरण गर्न नेकपा प्यूठानका अध्यक्ष तुलसीराम शर्मा, सचिव कृष्ण अधिकारी (प्रकाश) लगायतको टोली स्थानीय तहहरुमा पुगेका छन् ।
नेताहरुले स्थानीय तहमा मानिसको जमघट गराई भाषण गरेर मात्र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने गरेका छन् । जनतालाई सुरक्षाका सामग्री दिन पुगेका नेताहरु आफैं असुरक्षित भएर कार्यक्रम गरेका हुन् ।
जनप्रतिनिधिहरुले समेत त्यसको वेवास्ता गरेका छन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिले पनि मास्क, ग्लोब्सलगायत स्वास्थ्य सुरक्षाको प्रयोग गरेका छैनन् । कोरोनाको खतरा टरिसकेको जस्तै गरी नेता र जनप्रतिनिधिहरु कार्यक्रममा भेला भएका छन् । गौमुखी, झिमरुक र नौवहिनी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरुले सामाजिक दूरीलाई हेल्चक्रयाँइ गर्दै स्वास्थ्य सामग्री बुझेका छन् ।
गौमुखी गाउँपालिका कार्यालय प्रांगढमा भेला भएका २१ जनामध्ये १३ जनाले मास्कको प्रयोग गरेको देखिदैन् । तर, गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले यसलाई स्वभाविक रुपमा बुझ्न आग्रह गरे । 'नेताहरु आउँदा कार्यकर्ता जुट्नु स्वभाविक हो, उनले भने, 'धेरै समय बसेका थिएनौं, १५ मिनेट जति मात्र कार्यक्रम भएको हो ।'
सामग्री वितरणमा भाषण गर्दै नेकपा प्यूठानका अध्यक्ष तुलसीराम शर्मा ।
कोरोनाबाट बच्ने उपाय सिकाउन गाउँगाउँ पुग्ने अगुवाहरुले न्यूनतम मापदण्डलाई ख्याल गर्न नागरीक समाजका अगुवाहरुले सुझाएका छन् । स्थानीय सरकारका जनप्रतिनिधि र राजनीतिक अगुवाले नै असुरक्षित रुपमा सुरक्षाका सामग्री वितरण गरिनुले सन्देश राम्रो नदिएको नागरीकहरुले टिप्पणी गरेका छन् ।
मानिसको जमघट हुँदा न्यूनतम सामाजिक दुरीलाई पालना गर्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । ‘कम्तीमा तीन फिट टाढा हुनैपर्छ, उनले भने, 'हामी सुरक्षित छौँ भन्ने ग्यारेन्टी अझै छैन् ।' सामाजिक दुरीमात्र नभई व्यक्तिगत दुरीलाई समेत ख्याल गर्न उनले सुझाव दिए ।
जिल्लाका ९ वटै स्थानीय तहलाई वितरण गर्नेगरी नेता गौतमको पहलमा स्वास्थ्य सुरक्षाका सामग्री आएको नेकपा प्यूठानका प्रचार विभाग प्रमुख इमानसिँह भारतीले जानकारी दिए । १ सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), दश हजार थान सर्जिकल मास्क, एक हजार बोतल सेनिटाइजर, एक हजार थान ग्लोब्स र दुई हजार थान हेडक्याप आएको उनले बताए । स्वास्थ्य कार्यालयमार्फत एकद्धार प्रणालीबाट सामग्री स्थानीय तहमा पुर्याउन सकिने भएपनि नेताहरु गाउँगाउँ पुगेका हुन् ।
गौमुखी गाउँपालिकामा भेला भएका नेता, कार्यकर्ता र जनप्रतिनिधि ।