स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री जोहो गर्दै
ओखलढुंगा : लकडाउनले खाद्य संकट आउन सक्ने त्रासले सुनकोसी गाउँपालिकाका स्थानीयले खाद्यन्न जोहो गर्न थालेका छन् । खाद्यसामग्री अभाव हुन नदिन सुनकोशी गाउँपालिका वडा नं ७ र ८ ले स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री जोहो गर्न थालेका हुन् ।
स्थानीय हलेसी दर्शन कृषि सहकारी संस्थामार्फत उनीहरुले खाद्यसामग्री जोहो गर्न थालेका छन् ।
कोरोना भाइरसको महामारीका बेला सबैतिर खाद्यसामग्री आपूर्तिमा समस्या भइरहेको छ । लकडाउनमा लम्बिने अवस्था आयो भने गाउँमा भोकमरी निम्तिने अवस्था छ । स्थानीय हलेसी दर्शन कृषि सहकारी संस्थामार्फत् स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री संकलन गर्न थालेका हुन् । अहिले सहकारीले विभिन्न दाताहरुबाट सहयोग प्राप्त रकमबाट गाउँभरिको खाद्यसामग्री किनेर संकलन गरिरहेको सहकारीका अध्यक्ष नवीनकुमार कट्वालले बताए ।
सहकारीले संकलन गरेको खाद्यसामग्री भोकमारीबाट पीडित परिवारलाई उपलब्ध गराउने योजना बनाइएको छ । जसका लागि सुनकोशी गाउँपालिका वडा नं. ७ र ८ का दुवै वडाको निर्णय अनुसार निःशुल्क राहतस्वरुप वितरण गरिने वडा नं. ७ का वडा अध्यक्ष श्यामकुमार कट्वालले बताए ।
गाउँपालिकाले कृषिमा परनिर्भरता हटाउने योजना अगाडि बढाएको छ । स्थानीय किसानले उत्पादन गरेका खाद्यसामग्री संकलन गर्ने अभियान गाउँपालिकाभरि रणनीतिकरुपमा अगाडि बढाइरहेको सुनकोशी गाउँपालिकाले जनाएको छ ।
विपद्का बेला स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री सामग्री जोहो गर्ने अभियान आफैंमा राम्रो अभियान हो । यो अभियान भविष्यमा पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले जनाकारी दिए ।