प्रदेश १ को कोरोना कोषमा २८ करोड : १२ करोड खर्च
विराटनगर : प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ।
कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोषमा शुक्रबारसम्ममा २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिए।
कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो। कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए।
कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए।
राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नम्बर २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।