२६ दिन क्वारेन्टाइनमा बसेकालाई फेरी १४ दिन क्वारेन्टाइन

२६ दिन क्वारेन्टाइनमा बसेकालाई फेरी १४ दिन क्वारेन्टाइन

सन्धिखर्क : रोजगारीको लागि भारतको विभिन्न स्थानमा गएका र घरमा फर्किँदा सीमानामै लकडाउनमा परेका १ सय २८ जनालाई अर्घाखाँची ल्याएर फेरी क्वारेन्टाइनमा राखिएको छ । २६ दिन भारतको नौतुनुवाको एक विद्यालयको कवारेन्टाइनमा राखेर जिल्लामा ल्याइएका उनीहरुलाई फेरी  १४ दिनको लागि स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । 

जिल्ला प्रशासन कार्यलयमा बसेको सबै पक्षीय बैठकबाट भारत र नेपाल सरकारको सहकार्यबाट सीमानाको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आफ्नो घरमा ल्याइएको हो । भारतबाट आएका उनीहरुलाई भैरहवामा कोरोना परीक्षण गरेर ल्याइएको भएपनि कोरोनाको लक्षण नदेखिको हुनसक्ने भन्दै फेरी कवारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताएका छन्  । 

भारतमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा राखिएको छ । 

आफ्ना पालिकाका वासिन्दालाई सम्बन्धित पालिकाले नै व्यवस्थापन गर्ने गरी क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतुनुवाको एक विद्यालयमा क्वारेन्टाइनमा थिए ।

भारतीय सीमानाबाट आएकालाई क्वारेन्टाइनमा राख्ने तर काठमाडौंबाट आएकलाई क्वारेन्टाइनमा नराखेर घरघरमै पठाए पछि  स्थानीय त्रसित बनेका छन् । काठमाडौंबाट आउनेमा पनि कोरोना संक्रमण भएको छ कि र त्यो रोग आफूलाई सर्ने होकी भनेर त्रसित बनेका हुन्। 

काठमाडौंबाट जिल्ला भित्रिएका ४ सय १ जनामध्ये २६ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरु सबै घरघरमा गएका छन् । काठमाडौंबाट जिल्ला भित्रिएकालाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरी स्थानीय तहलाई जिम्मा दिने निर्णय भएपनि उक्त निर्णय कार्यन्वयन हुन सकेन ।

सबैलाई २ हप्ता क्वारेन्टाइनमा राख्न कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठक र जिल्ला विपद व्यवस्थापन  समितिको बैठकले निर्णय गरेपनि उक्त निर्णय स्थानीय सरकारले पालना गर्न सकेका छैनन् । जानकारीविना जिल्लामा काठमाडौंबाट पठाउँदा समस्या भएको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।
 
जिल्लाका ६ वटा स्थानीय सरकार मध्ये सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनि गाउापालिका र मालारानी गाउँपालिका गरी पाँच स्थानीय सरकारले सबैलाई घरघरमा पठाएका छन् । तर भुमिकास्थान नगरपालिकाले सबैलाई स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा राखेको छ । 

सन्धिखर्क नगरपालिकाका ७२ , शितगंगा नगरपालिकाका २४, भुमिकास्थान नगरपालिकाका २६, मालारानी गाउँपालिकाका ७३, छत्रदेव गाउँपालिकाका ११५ , पाणिनि गाउँपालिकाका ६५ जना र गुल्मीका २३ र  प्युठानका ३ जना गरी चार सय १ जना अर्घाखाँची आएका हुन् । 

सन्धिखर्क नगरपालिकाका ७२ जना सबैलाई  होम क्वारेन्टाइनमा सुरक्षित रुपमा रहेर सावधानीपुर्वक बस्ने गरी घरघरमा पठाइएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । काठमाडौंमा सेल्फ क्वारेन्टाइनमा बसेका उनीहरुले घरमै सुरक्षित बस्नेगरी पठाइएको उनले बताएका छन्  । 

भुमिकास्थान नगरपालिकाका २६ जनालाई स्थानीय सरकारले बनाएको क्वारेन्टाईनमा राखिएको नगर प्रमुख रेशम थापाले बताए । स्थानीय सरकारको रुपमा रहेका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका ,पाणिनि गाउँपालिका र मालारानी गाउँपालिकाले सबैलाई साबधानी अपनाएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेअनुसार सबैलाई घरघरमा पठाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.