पूर्वी पहाडको पुनःनिर्माणः पाँच वर्षसम्म अधुरै
ओखलढुंगा : पूर्वी पहडामा भूकम्पपछिको पुनः निर्माणलाई लक डाउनले असर गरेको छ । व्यक्तिगत आवाश तथा सरकारी र सामुदायिक संरचना निर्माणको काम रोकिएको हो । अहिले सबै खाले निर्माणका काम अवरुद्ध छन् ।
निर्माण सामाग्री व्यवस्थापन तथा मजदुर परिचालन लगायतका काममा बन्दाबन्दीले असर गरेको जिल्ला आयोजना कार्यालय ओखलढुंगाले जनाएको छ । पुनः निर्माणका काममा व्यक्तिलगत आवश, सरकारी कार्यालय तथा सामुदायिक विद्यालय र सडक निर्माणाधीन थिए । त्यस्ता पूर्वाधारको काममा बन्दाबन्दीले सामग्री ढुवानी, रकम भूक्तानी तथा मजदुर परिचालन र रकम भूक्तानीका काम रोकिएका हुन् ।
व्यक्तिगत आवाशतर्फ चालु वर्षमा सम्पन्न लक्ष्य राखिएको ओखलढुंगाले ७४ प्रतिशत प्रगति हासिल गरेको छ । निर्माण थालिएकामध्ये ७४ प्रतिशत घर सम्पन्न भएका छन् । तथ्यांक अनुसार जिल्लामा ९३ प्रतिशतले पहिलो किस्ता लिएको र सम्झौता गर्न बाँकी ७ प्रतिशत छन् । जिल्लामा २२ हजार ४ सय ९ पुनः निर्माण लाभग्राहीमध्य रेक्ट्रोफिटिङ अर्थात प्रवलीकरणमा ४ हजार ९ सय ६१ छन् । अहिलेसम्म १ हजार ८ सय ६३ लाभग्राहीले सम्झौता आवाश पुनः निर्माणका लागि सम्झौता नै गरेका छैनन् ।
अहिले व्यक्तिगत आवाशका अतिरिक्त पुनः निर्माणका काम रोकिएका छन् । भवन तथा शडक निर्माणका लागि सामग्री अभाव, जनशक्ति परिचालन लागायतका काम हुन नसक्दा सुचारु रहेका आयोजना रोकिएको जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुंगाका निर्मलकुमार श्रेष्ठले बताए । उनका अनुसार बन्दाबन्दीले लक्ष्य अनुसार निर्माण कार्य पूरा नहुने अवस्था छ । ओखलढुंगामा ७ सरकारी कार्यालय २ सडक र ४० विद्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।
त्यस्तै, निजी आवास पुनःनिर्माणको काम सोलुखुम्बुमा ७४.५७ प्रतिशत सकिएको छ । तथ्यांक अनुसार पहिलो किस्ता लिएका मध्ये ९ हजार २ सय ३१ घर निर्माण सकिएर तेस्रो किस्ता लिएका छन् । लाभग्राही संख्या १३ हजार ६ सय ८ जना छन् । उनीहरुमध्ये १२ हजार ४८ जनाले पहिलो किस्ता लिएका छन् । तथ्यांकअनुसार पहिलो किस्ता लिएका एक हजार ३ सय ८६ ले दोस्रो किस्ता लिएका छैनन् । दोस्रो किस्ता लिएका १ हजार ४ सय ३१ लाभग्राहीले तेस्रो किस्ता लिन बाँकी छ । प्रबलीकरणको सुचिमा समावेश भएका लाभग्राही १ हजार २ सय ३० रहे पनि प्रवलीकरणको काम थालिएको छैन ।
खोटाङमा भने ८० प्रतिशत निजि आवास पुनःनिर्माण सकिएको छ । ९० प्रतिशतले दोस्रो किस्ता लिएका छन् । बन्दाबन्दीले गाउँदेखि सदरमुकाम रहेको बजारसम्मै ढुवानी, जनशक्ति परिचालन तथा रकम भूक्तानीका काम रोकिएकाले पुनःनिर्माणको काम अहिले ठप्प रहेको जिल्ला आयोजना कार्यन्वयन इकाई खोटाङका मणिराम ढकालले बताए ।