लकडाउन प्रभावितबाटै रकम असुलेर राहत वितरण
ओखलढुंगा : सुनकोसी गाउँपालिका वडा नं. ४ मा लकडाउन प्रभावित र खाद्यन्न अभाव हुने परिवारबाटै रकम असुलेर रकम उठाइएको छ । राहत दिन वडाले टोल टोलमै समिति बनाएर चामल चाहिने व्यक्तिसँग प्रतिव्यक्ति १ हजार ३ सय ५० रुपैयाँ उठाएको हो ।
वडामा भोकमरी हुन लागे पनि गाउँपालिकाले नसुनेपछि स्थानीयलाई सहुलियत दिन रकम उठाएर चामल खरिद गरेर घरघरै बाड्ने तयारी गरेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयले राहत बाँड्ने पैसा उठाउनका लागि टोलटोलमै समिति समेत गठन गरेको छ । खाद्यन्न अभाव हुने भनेर वडामा ४ सय २९ परिवार पहिचान गरिएको छ । उनीहरुलाई वडाका तर्फबाट खरिद गरेर ढुवानी खर्च व्यहोरेर घरघरै पुर्याइदिने भन्दै निर्णय नै गरेर रकम उठाइएको हो । एक हप्ता पहिले रकम दिए पनि स्थानीयले चामल पाएका छैनन् । जेरुङ गाउँका स्थानीय विमला श्रेष्ठका अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० का दरले रकम दिइएको छ । आफूले पनि चामल अभाव भएर रकम दिए पनि हालसम्म चामल आइनपुगेको श्रेष्ठले बताइन् । जेरुङ गाउँमा मात्रै २ सय बढीले रकम दिएका छन् ।
वडाले विपद् व्यवस्थापन कोषको १ लाख मात्र रकम रहेकाले स्थानीयसँगै रकम लिएर चामल खरिद गरी ढुवानी सहुलियत दिन लागेको वडा सचिव उर्मिला खत्रीले बताइन् । वडाका स्थानीयलाई वडा कार्यालयले ढुवानी सहुलियत दिने उद्देश्यले विपद् व्यवस्थापन कोषबाट ढुवानी गर्ने नीतिगत निर्णय भएको खत्रीको भनाइ छ ।
स्थानीयले भने गरिबसँगै रकम असुलेर राहतको नाममा नाटक गरेको आरोप लगाएका छन् । गाउँपालिकाले खाद्य संकट भएका परिवारलाई राहत चासो नदिएको उनीहरुको भनाइ छ । पीडितसँगै रकम असुलेर राहत दिने काम नाटक मञ्चन मात्रै भएको स्थानीय नवराज खड्काले बताए ।
वडा अध्यक्ष भन्छन्, 'गाउँपालिकाले नसुनेपछि रकम उठायौं'
प्रभावित र गरिव परिवारबाटै रकम उठाएको विषयमा वडा अध्यक्ष कुमार राईले वडामा आफ्नै स्रोत नभएको, गाउँपालिकाले आफ्नो वडाको समस्या नसुनेपछि प्रभावितबाटै रकम उठाएको बताए । उनले भने, ‘पोहोर फौजी कीराले सतायो, अहिले गाउँमा भोकमरी लाग्ने अवस्था छ, गाउँपालिकाले राहत दिने कुरै नसुनेकाले यो प्रकृया थालेका हौं ।’
उनले वडाले ढुवानी सहुलियत दिएर चामलको रकम चाँही उनीहरुबाटै लिएर घरैमा चामल पुर्याउने तयारी थालेको बताए । यसलाई राहतकै रुपमा लिन सकिने उनको भनाइ छ ।
सुनकोसी गाउँपालिकाले भने खाद्यन्न संकट भइ नहालेको जनाएको छ । गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले गाउँपालिकाले आवश्यक पर्दा राहत दिने गरी खाद्यन्न संचितीकरण गरिरहेको बताए । अधिकारीले अहिले राहतको कुनै कार्यक्रम नरहेको र वडाले ढुवानीमा समस्या हुँदा सहजीकरण गरेको हुनसक्ने बताए ।