कोरोना कहरमा नृत्य दिवस

कोरोना कहरमा नृत्य दिवस

काठमाडौं : हरेक वर्षको अप्रिल २९ तारिखमा संसारभरि विभिन्न कार्यक्रमका साथ नृत्य दिवस मनाइन्छ। जसअनुसार बुधबार नृत्य दिवस हो। यो दिवस सन् १९८२ बाट मनाउन सुरु गरिएको हो। तर यो वर्ष कोरोना आफंै ताण्डव नृत्य गरिरहेकाले दिवस ओझेलमा परेको छ।

विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रम एक अभिन्न अंग बन्ने गरेको छ। राजनीतिक आमसभामा समेत भीड जम्मा गर्न नृत्यका कार्यक्रम राखिनु सामान्य हुन थालेको छ।

अहिले युट्यबको जमाना आएको छ। त्यसैले, गायकलाई गीत हिट गराउन स्वर राम्रो मात्रै होइन, छमछमी नाचेको गीतको भिडियोको सहारा लिनैपर्ने बाध्यता छ। त्यसैले, नृत्य सीप भएका कलाकारले खाली बस्नुपर्ने अवस्था छैन।

काठमाडौंमा नेवार जात्राका अवसरमा अनेक देवदेवीको रूपमा बाह्रैमहिना नृत्य गर्ने चलन छ। पहाडका मगर, गुरुङको रोदी होस् या घाटु, उता तराईका थारू जनजातिको सखिया होस् या मधेसीको झिझिया नृत्यले सास फेरिरहेको छ। नृत्य हेर्नेबित्तिकै धेरैको मन प्रफुल्लित हुन्छ। नाच्न नजान्नेहरू पनि छेउछेउमा थपडी बजाएर रमाइरहेका हुन्छन्। कहिल्यै ननाच्ने दिदीबहिनी तीजको अवसरमा त नाचेकै हुन्छन्।

रंगकर्ममा नृत्यको अझ विशेष महत्व छ। नायक नायिकाले कम्मर नमर्काएको कुन चाहिँ फिल्म नहोला र ? नेपाली फिल्मको प्रसंग उप्काउँदा नायिका मिथिला शर्मालाई नृत्यको पर्यायवाची कलाकारका रूपमा चिनिन्छ। विद्यालयमा नृत्य पढाउने उनको नृत्य नै जिन्दगी भएको छ। नृत्य दिवसबारे मिथिला भन्छिन्, ‘केही वर्षयता नेपालमा पनि विभिन्न कार्यक्रम गरी नृत्य दिवस मनाउन थालिएको थियो। नेपाल नृत्य संघले यस अवसरमा शुभकामना आदानप्रदान गरेर विभिन्न व्यक्तिलाई सम्मान कार्यक्रम गर्न थालेको थियो।’

मिथिलाका अनुसार प्रतियोगिता समेत गरेर विश्वमा नृत्य दिवसको चर्चा थालेको एक दशक जति भएको छ। तर एक दिन मात्र नृत्य दिवस मनाएर हुँदैन। नृत्य त दैनिक गरिने साधना हो। दिवसले यस क्षेत्रमा लाग्नेहरूको भेटघाट भने गराउँछ।

सरकारी निकायबाट भने नृत्य दिवस मनाइएको छैन। नृत्यसमेतको प्रशिक्षण दिने नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का महाप्रबन्धक अशोक राईले नृत्य दिवसबारे अनभिज्ञता प्रकट गरे। ‘हाम्रो नियमित सेड्युलमा यो दिवस छैन’, उनले भने।

खुसी अभिव्यक्त गर्न मान्छे मात्र नभई मयूरलगायतका विभिन्न पशुपन्छी पनि नाच्ने गर्छन्। चटकेहरूले बाँदर, भालुलगायतलाई नचाएर मनोरञ्जन दिलाउँदै जीविकोपार्जन गर्छन्। नृत्य आफैंमा एउटा दर्शन हो। कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब नृत्य हो। खुसीको मुहान हो, नृत्य। मिथिलाले मन अशान्त हुँदा केहीबेर नृत्य गरे शान्ति छाउने अनुभव सँगालेकी छन्।

विभिन्न किसिमका व्यायामका लागि पनि अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, साल्सालगायत नृत्य प्रयोग हुन थालेको छ। नृत्य कसैको लागि रुचि, कतिको पेसा अनि कतिको दैनिकी पनि बनेको छ। विभिन्न कार्यक्रममा नृत्य गरेर नृत्यांगनाले राम्रो पारि श्रमिक लिन थालेका छन्। सहरमा नृत्य सिकाउने प्रशिक्षण कक्षा खुलिरहेका छन्। रंगकर्ममा रुचि राख्नेहरूको रोजाइ नृत्य कक्षा पनि हुने गरेको छ।

लकडाउनमा नृत्यको महत्व अझ बढेको छ। बाहिर निस्किन नपाएपछि कीर्तिपुरकी भूमिका थारू शारीरिक व्यायामका लागि हरेक बिहान कम्तीमा दुईवटा गीतमा नाच्ने गरेको बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.