नेपालगन्जको मस्जिदमा रहेका १० भारतीयको कोरोना परीक्षण
नेपालगन्ज : नेपालगन्जका मस्जिदमा रहेका भारतीय नागरिकको कोरोना जाँच सुरु भएको छ । मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा मंगलबार साँझ ८ बजेतिर फुल्टेक्रामा रहेको फैजाने मदिना मस्जिद मदरसा स्कुलका १० जना शिक्षक, धर्मगुरु र विद्यार्थीको कोरोना जाँचका स्वाब संकलन गरिएको हो । कोरोना परीक्षण गरिएका सबै भारतीय हुन् ।
आरडीटी प्रविधिबाट कोरोना जाँच गर्ने तयारी भइरहेको बेला पीसीआर प्रविधिबाट नै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनीहरुको कोरोना जाँचका लागि स्वाबको नमूना भेरी अस्पतालको कोरोना प्रयोगशालामा पठाइएको छ ।
स्वाब संकलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीलगायत सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो ।
मुस्लिम आयोगद्वारा गठन गरिएको अनुगमन समितिका संयोजक अब्दुल हमीद सिद्दीकी, बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगी, मौलाना जब्बार मञ्जरीलगायत विभिन्न धर्म सम्प्रदायका धर्मगुरु, नेपालगन्ज ४ का अध्यक्ष सफीक बेहना, अनुगमनकासमितिका सदस्य आलम खान, मेराज अहमद, शक्तिकुमार अब्दुल कवि, शाहिदा बानो शाह र इरशाद राई रहेका थिए ।