घरमै पुगेर स्वास्थ्य जाँच र सामाजिक सुरक्षा भत्ता वितरण
ओखलढुंगा : खिजिदेम्बा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई टोलटोलमै पुगेर स्वास्थ्य जाँच गरेर वितरण गरेको छ। गाउँपालिकाभित्रका जेष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिलाई सरकारले दिने भत्ता दिनु पूर्व स्वास्थ्य परीक्षणसमेत गर्न थालेको हो।
स्वास्थ्य परीक्षणमा सामान्य रोगका औषधी र भत्ता एकसाथ दिइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले बताए। गाउँपालिकामा १ हजार ६ सय ४३ जना नागरिक सुरक्षा भत्ता पाउने सूचीमा सूचिकृत छन्। गाउँपालिकाले भत्ता वितरणका लागि वडाध्यक्ष, कर्मचारीलगायत औषधिसहितका स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। उनीहरुले टोलटोलमै पुगेर भत्ता वितरण गर्ने र स्वास्थ्य जाँच गरेका हुन्।
लकडाउनलगायतका प्राविधिक समस्याले केही ढिला भएपनि स्वास्थ्य परीक्षण गर्ने र भत्ता दिने काम एकसाथ गर्दा जेष्ठ नागरिक खुसी भएको वडा नं. ५ का अध्यक्ष राम सुनुवारले बताए। उनले हिँडेर टाढासम्म पुगेर स्वास्थ्य जाँच गर्नु पर्दा समस्यामा परेका नागरिकलाई सहज भएको दाबी गरे।
गाउँमै स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सहज भएको छ। गाउँमै स्वास्थ्योपचार र भत्ता पाउँदा सरकार भेटेको अनुभूति भएको स्थानीय रुकीमाया सुनुवारले बताइन्।