सिभिल इन्जिनियरिङमा कोरोना प्रभाव
सिभिल इन्जिनियरिङ पेसा भन्ने बित्तिक्कै हामी सबैलाई सडक निर्माणसम्बन्धी काम हो भन्ने लाग्दछ। यो यस पेसाको एउटा आयाम मात्र हो। सिभिल इन्जिनियरिङ विषयअन्तर्गत ठूलाठूला घर, बाटोघाटो, पुल, पुलेसा, नहर बाँध, हाइड्रो पावर आदि संरचनाको निमार्ण कार्य पर्दछन्। यस्ता राष्ट्रको स्वरुप नै परिवर्तन गर्ने संरचना निर्माणका लागि सुरुको योजनादेखि अन्तिम स्वरुप दिने अवस्थासम्म पुर्याउन सिभिल इन्जिनियरको भूमिका महत्वपूर्ण रहन्छ।
निर्माण कार्यको स्थान छनोटदेखि उक्त संरचनाको डिजाइन अर्थात् आकारप्रकार कस्तो रहने भन्ने तर्जुमा गर्नाका साथै लागत अनुमान गरी सोही लागतअनुसार योजनालाई पूर्णता दिने जस्ता काम यसअन्तर्गत पर्दछन्। सोही डिजाइन (नक्सा) अनुसारको काम सुरु गरे पश्चात सो निर्माण कार्यमा प्रयोग हुने र भएका सामग्रीको उचित संयोजन, गुण नियन्त्रण तथा सुधारका पक्ष पनि सिभिल इन्जिनियरिङका जिम्मेवारी क्षेत्रभित्र पर्दछन्। कुनै पनि संरचना निर्माणका परियोजनामा सुरुदेखि अन्तिमसम्मका लागि गरिएको लागत अनुमान भित्रै रही गुणस्तरीय काम भएको यकिन गर्ने महत्त्वपूर्ण जिम्मेवारी सिभिल इन्जिनियरको नै हुन्छ। तसर्थ संसारमा भएका जति पनि निर्माण कार्य छन् त्यसका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा भनेको पनि सिभिल इन्जिनियरिङ नै हो।
अहिले विश्वभर कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने कोभिड–१९ को त्रास छ । यसले गर्दा विश्व ठप्प अवस्थाबाट गुज्रिरहेको छ। कोरोनाको त्रासले आजकल कलकारखाना तथा विविध परियोजना पूर्णतः बन्द या न्यून क्षमतामा चलिरहेका छन्। यस्तो अवस्थामा सिभिल इन्जििनियरिङ क्षेत्र स्वाभाविक रुपमा आक्रान्त बनिरहेको छ। प्राविधिक रुपले इन्जिनियरिङ क्षेत्र भौतिक पूर्वाधारका सूचक हुन्। विकास र मानवबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। मानव बिना यी सब कुरा औचित्य हिन रहन्छन्। यस महामारीको घडीमा चलायमान मानव स्रोत नै लकडाउनले स्थिर रहँदा विकासका काम वन्द भएकाले यसबाट अल्पकालीन र दीर्घकालीन असर पर्न जान्छ।
अल्पकालीन असर
हाल लकडाउन अर्थात् बन्दाबन्दीले निर्माण कार्यहरु ठप्प हुन पुगेका छन्। यसले गर्दा मजदूरहरुलाई खाने बस्ने समस्या बिकराल हुन पुगेको छ भने निर्माण कार्य रोकिएकाले ठेकदार अर्थात् निर्माणकर्ताले ठूलो घाटा बेहोर्नु परेको छ। निर्माणकार्य रोकिएका कारण दैनिक जीवीकोपार्जनमा पनि कठिनाइ आएको छ। कतै ढल थुनिएकाले समस्या जन्मिएको छ भने कतै बिग्रिएको बाटो समयमा बन्न नसक्दा यातायातमा बाधा पुगेको छ। नयाँ परियोजना पूरा नभएर एकातिर समस्या उत्पन्न भएको छ भने अर्कोतिर बिग्रे भत्किएका भौतिक संरचनाको मर्मत नभएकाले समस्यामाथि समस्या थपिन पुगेको छ।
दीर्घकालीन असर
विकास निर्माण तथा सिभिल इन्जिनियरिङ क्षेत्रमा काम गर्ने मानवस्रोत आर्थिक रुपले मन्दीको चपेटामा पर्नुको अर्थ अर्थतन्त्रसम्बन्धी काम गर्ने संस्थासमेत मन्दीबाट गुज्रिनु नै हो। यसले त्यस्ता संघ संस्थाको आर्थिक सवलतालाई समेत दिगो असर पार्न सक्छ। निर्माण कार्य ढिलो हुँदा लागत बढ्दै जाने र समयमा कार्य सम्पन्न नहुँदा अपेक्षित नाफा कमाउन नसकिने हुँदा लगानी कर्ताको अवस्था कमजोर हुन पुग्छ। यसले गर्दा भविष्यमा यस्ता परियोजनाका लागि लगानीकर्ता पाउन नै कठिन हुन्छ। लगानी गर्ने अवस्थामा कमजोरी आउनाले देशमा हुने विकास निर्माणका कामहरु खुम्चिँदै जाने सम्भावना समेत बढ्न सक्ने देखिन्छ ।
तसर्थः लकडाउन अर्थात् बन्दाबन्दीका केही प्रावधानलाई स्थानअनकुल खुकुलो गर्दै विकास निर्माणका कार्य सुचारु गर्ने सम्बन्धी नीति निर्माण गर्नु आवश्यक छ। जुन ठाउँमा कोरोनाको प्रकोप देखिएको छैन त्यस्ता ठाउँमा सामाजिक दूरी कायम गरेर योजना सुचारु रुपले सञ्चालन गर्न सकिन्छ। यस्तो अवस्थामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ।
लकडाउनकै अवधिमा सरकारले राजधानीका सडक मर्मत, सरसफाई गरे झै विकास निर्माणका कार्य पनि सञ्चालन गर्न असम्भव छैनन्। यसले मजदुरको रोजगारी पनि रहिरहने, सम्बन्धित संस्थाको आर्थिक सवलतामा पनि ह्रास आउन नदिने भूमिका खेल्छ। विकास निर्माणका यस्ता कार्य यस्ता विषम परिस्थितिमा पनि नियन्त्रित रुपले अगाडि बढाउन सकेमा राज्यको विकास सुचांकमा पनि सकारात्मक असर पर्ने निश्चित छ। स्मरण रहोस् रोगबाट अहिले नमरियोस भनेर सबैकाम ठप्प गर्दा भोलि भोकले मर्ने अवस्था सिर्जना नहोस्। (लेखक सिभिल इन्जिनियर)