धार्चुलाबाट ५० जना अछाम ल्याइयो
अछाम : भारतको धार्चुलामा रहेका अछामका ५० जनालाई जिल्ला ल्याइएको छ। धार्चुलाबाट उनीहरुलाई बिहीबार दार्चुला ल्याएर शनिबार अछाम ल्याइएको हो।
ढकारी गाउँपालिका ३२ जना र तुर्माखाद गाउँपालिकाको १८ जना रहेका छन्। उनीहरु सबैलाई स्थानीय तहको क्वारेन्टाइनमा राखिने र कोरोना परिक्षणपछि मात्र घर पठाउने प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए। उनले भने 'एक महिना भन्दा बढी धार्चुलाको क्वारेन्टाइनमा बसेर आएका छन्। बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौं। उनीहरु क्वारेन्टाइनमै बसेकाले थप १४ दिन क्वारेन्टाइनमा राखेर परिक्षणपछि मात्र घर पठाउछौ।'
ढकारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक वलीले केहि व्यक्तिहरु क्वारेन्टाइनमा नबसेको खबर पाएकोले सबैलाई २१ दिन क्वारेन्टाइनमा राखेर परिक्षण गरिने बताए।
अछाम, सुर्खेत र दैलेखका ७२ जनालाई पानी र खाजाको व्यवस्था गरेको वाक नेपालका उपाध्यक्ष बलहादुर केसीले बताए।
प्रतिक्रिया दिनुहोस !