कांग्रेसबाट नेकपा प्रवेश गरेका वडा अध्यक्षको पद गुम्यो
बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका ७ मा नेपाली कांग्रेसबाट नेकपामा प्रवेश गरेका वडा अध्यक्षको पद रिक्त भएको छ । वडा अध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताए पनि उनले अझै पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ ।
निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भएपनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो । आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले जानकारी दिए ।
धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पछि उनी उपनिर्वाचनका बेला नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । धामीले नेकपामा प्रवेश गरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले धामीले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगले निर्णय गर्दै डिलाशैनी गाउँपालिका वडा नं ७ मा वडा अध्यक्षको पद रिक्त रहेको जानकारी दिएको हो ।
यस्तै डडेल्धुराको परशुराम नगरपालिका १० की महिला वडा सदस्य जानकीदेवी महराले समेत दल त्याग गरेपछि स्वतः पदमुक्त भएको निर्वाचन आयोगद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।