लकडाउनमा खेतबारीमै व्यस्त किसान
ओखलढुंगा : लकडाउनले किसानलाई छोएको छैन । आजभोलि कामको सिजन भएकाले किसानहरु दिनहुँ खेतबारीमा भेटिन्छन् । कतै मकै गोड्ने र कतै छर्ने काम धमाधम चलिरहेको छ । बेला बेला पर्ने झरिले बरु उनीहरुलाई असर गर्छ ।
‘लकडाउन भनेर चुपचाप बसे बारी बाँझै हुन्छ, अनि भोकै मर्ने ?’, बारीमा मकै गोड्दै भेटिएका सिद्धिचरण नगरपालिका वडा नं. ५ का किसान घनश्याम विकले प्रश्न गरे । ‘हुनेखानेलाई घरभित्रै बसेर खान पुग्छ होला, किसानहरुलाई यतिबेला बाम नगरे भोकै मरिन्छ’, उनले अन्नपूर्ण अनलाइनसँग भने ।विकले कुखरा फारम चलाएका थिए । अहिले चल्ला र चारो हाल्न नपाएपछि बन्द छ । उनी आजभोलि आफ्ना र छिमेकीका बारीमा पर्म लगाउन व्यस्त छन् ।
ओखलढुंगाको दक्षिणि तथा पूर्वी भेगमा यतिबेला मकै छर्ने र गोड्ने सिजन हो । लकडाउनले खाद्यन्न संकट हुने चिन्तामा रहेका किसानहरु अन्यौल र त्रासकै बीचमा खेतबारीमा भेटिन्छन् । विगतमा जस्तो त्रास र बन्दाबन्दी नभए उनीहरु पर्मेली लगाउँथे । एक दिन एक जनाको काम अर्को दिन अर्काको काम भ्याउँथे । पर्मेली लगाउने काम बारीमा मल बोक्ने, कमै गोड्ने, धान र कोदो रोप्दा गरिन्छ । जनशक्ति धेरै चाहिने भएकाले छिमेकमा आलोपालो गरेर खेति उतार्ने तरिका हो पर्मेली ।
कोरोनाले यो परम्परा भने भत्काइ दिएको छ । सबै खेतिमा पर्मेली लाउने रुम्जाटारेली पनि अहिले पछि हटेका छन् । चार वा पाँच जना सम्म मिलेर खेतिपातीको काममा जुटेका देखिन्छन् । तर, यो पटक किसान आफू आफै काममा खटिएका छन् । नजिकका उकाध घर मिलेर आलोपालो गर्छन् । कोरोना गाउँ आउने हो कि भने डराइ डराई बारिह निस्कन्छन् । ‘काम नगरी पनि हुँदैन डराउदै गर्नुपर्छ’, बारीमा मकै गोड्ने काममा जुटेकी रुम्जाटारकी पदमकुमारी गुरुङले भनिन् । दैनिक जसो आउने झरीले भने किसानको काममा अवरोध गरेको छ । पानी पर्दा मकै गोड्दा पहेलीने समस्या आउने गर्छ ।
गाउँमा शहरबाट आउनेले संक्रमण सार्छन् भन्ने चिन्ता छ । अनेक किसिमका हल्ला र समाचार सुन्दा पनि पुरै नसुन्दा बुझिने फरकपनले अनेक हल्ला चल्ने गर्छन् । अनाधिकृत हल्लाले गाउँमा नागरिकलाई त्रास थपेको चिसंखुगढी गाउँपालिका २ का वडा सदस्य जीवनकुमार थापाले बताए । ‘आधिकारिक कुराभन्दा हल्लाले सताउने गर्छ, कतिपय किसानलाई खेतबारीमा काम गर्दा पनि कोरोना सर्ने त्रास रहेको पाइयो’, उनले भने ।