राहतका लागि ल्याइएको चामल गाउँपालिकाले गर्यो फिर्ता
ओखलढुंगा : चिशंखुगढी गाउँपालिकाले राहत वितरणका लागि ल्याइएको चामल आपूर्तिकर्तालाई फिर्ता पठाएको छ । राहत वितरणका लागि ल्याइएको चामल खरिद सम्झौता अनुसार नभएको भन्दै फिर्ता पठाएको हो ।
ठेक्कामार्फत खरिद सम्झौता गरेको सप्लायर्सले सोना मनसुली चामल ढुवानी गर्ने सर्त भएपनि रामविलास मिसाएर ढुवानी गरेपछि फिर्ता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । अन्य सामग्री भने सम्झौता अनुसार नै ढुवानी गरेको पाइएको छ । गाउँपालिकाले राहत वितरणका आपूर्तिकर्तालाई सम्झौता अनुसारको चामल आपूर्ति गर्न निर्देशन समेत दिएको छ ।
आपूर्तिकर्ताले सामग्री ढुवानी गरेपछि सम्झौता अनुसारको गुणस्तर भए नभएको अनुगमन गरिएको थियो । 'सम्झौतामा सोना मनसुली चामल ल्याउने उल्लेख भए पनि कतिपय वडामा रामविलास ल्याइएको पाइएपछि फिर्ता गरेका हौं, प्रमुख प्रशासकीय अधिकृत दर्जीले भने, 'खाद्यवस्तुको गुणस्तरमा कुनै सम्झौता हुँदैन ।'
सबै सामग्री आपूर्ति भइसकेपछि तत्काल राहत वितरण गर्ने गाउँपालिकाले जनाएको छ । चामल तोकिएभन्दा फरक पाइएपछि राहत वितरण रोकिए पनि आपूर्तिकर्तालाई तत्काल ढुवानी गराएर एक, दुई दिनभित्रै राहत वितरणको काम सुरु गरिने बताइएको छ ।
गाउँपालिकाले यसअघि संघ तथा प्रदेश सरकारले जारी गरेको असंगठित क्षेत्रमा कार्यरत मजदुर तथा असहायलाई दैनिक जीवन यापनका लागि राहत उपलब्ध गराउने सम्बन्धी मापदण्डअनुसार व्यक्ति तथा परिवार छनौट गरेको थियो ।
चिशंखुगढीले ८ वडाका ७ सय ६७ परिवारलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन राहत स्वरुप वितरण गर्ने तयारी गरेको छ ।