नेपाल-भारत सीमा सिल, मकैबारीबाट ओहोर-दोहोर
विराटनगर : कोरोना भाइरस संक्रमणबाट रोकिन नेपाल-भारत दुवै देशका सरकारले सीमा सिल गरेको छ। तर, सीमा क्षेत्रका बासिन्दाले खुला सीमाका कारण सीमा वारपार गर्ने गरेको छ। मोरङको सीमावर्ती स्थानीय तहको विभिन्न क्षेत्रबाट आवतजावत गर्ने गरेको हो।
दुवै देशका सीमा सुरक्षाबल सीमा तैनाथ गरिएको अवस्थामा पनि खुला सीमाका कारण दक्षिणी भूभाग भारतको बिहार राज्यसँग जोडिएको क्षेत्रबाट नेपाल आउने गरेको हो। सीमा क्षेत्रका भारतीय राति-राति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कडा सुरक्षाबीच पनि मकैघारी हुँदै नेपाल प्रवेश गरिएको पाइएको छ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा एक÷एक किलोमिटरमा पाल टाँगेर बसेको र नेपालबाट भारत र भारतबाट नेपाल प्रवेश गर्नमा रोक लगाएको तथा दिनरात नभनी सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको दाबी छ। तर, सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुवैतिर मकै खेती रहेकाले भारतीय नेपाल भारतीय सहजै प्रवेश गरेको हो।
सीमाक्षेत्र गाँसिएको स्थानीय तहका प्रमुखहरूले समेत भारतीयको प्रवेश नरोकिएकाले कोरोनाले महामारी अझै बढ्न सक्ने बताए।
ग्रामथान गाउँपालिका प्रमुख हरिलाल सिङले दैनिक भारतीय नेपाल प्रवेश गर्ने गरेको बताए। दुवै क्षेत्रमा मकैखेती रहेकाले मकैबारीबाट भारतीय प्रवेश गर्ने गरेको उनले बताए।
स्थानीय तहले रोक्न नसक्ने भएकाले सीमासुरक्षा बल भारतीयलाई प्रवेश गर्नबाट रोक्न नसकेको बताए। ४ दिनअघि मात्रै आधा दर्जनभन्दा भारतबाट नेपाल आएकाको बताए। भारतबाट नेपाल आउनेको थाह पाएपछि होम क्वारेन्टाइनमा राखेको उनले बताए। धनपालथानमा मयागंज छोटी भन्सारको आसपाससहित खैरवाना, नोचा गररिया भारतीय नाकाबाट नेपाल भित्रिने गरेको उनले बताए।
सुनवर्षी नगरपालिका प्रमुख कालीप्रसाद दासले भारतीयको आवतजावत नरोकिएकाले अझै नियन्त्रण गर्न चुनौती थपिएको बताए। पटक-पटक सबै सुरक्षा निकायलाई आग्रह गर्दे आए पनि बन्द हुन नसकेको उनले बताए।
उनले नेपालबाट नेपाल ल्याउन खोज्दा प्रशासनले रोक्ने तर भारतीय सहजै नेपाल प्रवेश गर्ने रबैयाले असुरक्षित बनेको उनले बताए।
सुनवर्षी नगरपालिका-७ स्थित वरडंगाको १ सय ५९ नम्बर पिलर आसपास भारतीय मकैखेतीबाट आउने गरेको बताइएको छ। वरडंडाका रमेश साहले भारतीय मजदुर नै कामका लागि ल्याउने गरेको बताए। उनीहरूसमेत लिजमा .( बटिया) खेती लिएर गर्ने गरेको जानकारी दिए। सशस्त्र प्रहरीका हवल्दार शम्भु महतोले अहिले कुनै भारतीय नेपाल प्रवेश नगर्ने गरेको बताए। उनले भने, ‘ सीमा हामी आएपछि रोकेका छौं। आउन खोज्छ तर आउन दिँदैनौँ।’
भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर सीमा प्रवेश रोक्न सफल भएको बताए। सीमा क्षेत्रमा बसोबास गर्ने धेरैजसो भारतीय नेपालमा खेतीपाती गरेका छन्। नेपाल भारतको खुला सीमा भएका कारण भारतीय गाईवस्तुसमेत चराउन नेपाल आउने गरेको छ। यसरी नेपाल प्रवेश गर्दा नेपालीमा खतरा बढ्दै गएको स्थानीय तहका प्रतिनिधिले बताएका छन्।
नेपालको बरडंडासँग जोडिएको भारतीय क्षेत्र साइदा वाद कलौनी छ। त्यहाँका भारतीय हुल बनाएरै नेपालतर्फ गाई चराउन आउने गर्छन्।
भारतीय सुरक्षा बलका जवानका अनुसार साँझमा समस्या आउने गरेको बताए।
नेपालमा जग्गा भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकका कारण लकडाउनका बेला सीमा सुरक्षामा चुनौती थपिएको सुरक्षा अधिकारीले बताएका छन्। पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जग्गामा कैयौँ भारतीय नागरिकले खेती गर्दै आएका छन्।