नवनिर्मित अस्पताललाई कोरोना अस्पताल बनाउँदै सञ्चालक
कपिलवस्तु : पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा नेकपाका युवा नेता फैजल खानले सञ्चालनको तयारीमा रहेको आफ्नो निजी अस्पताललाई कोरोना अस्पतालको लागि प्रयोग गर्न दिने भएका छन् ।
यशोधरा गाउँपालिकाको पकडीमा रहेको तैवा हस्पिटल प्रालिलाई नेता खानले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँमा आफ्नो सहयोगस्वरुप सो हस्पिटल उपलब्ध गराउन लागेको बताए ।
हस्पिटलमा हाल २० बेड र १ आईसीयू तयारी अवस्थामा रहेको र अन्य स्वास्थ्य उपकरणहरु समेत हस्पिटलमा रहेका छन् । यस हस्पिटललाई ५० बेडसम्मको कोरोना विशेष अस्पताल बनाउन सकिने नेता खानले बताए ।
नेता खानको यो हस्पिटलको वर्तमान अवस्था र प्रयोग गर्न सकिने नसकिने बारे बुझ्नका लागि स्वास्थ्य अधिकारी सहितको टोलीले बुझेर प्रदेश तथा केन्द्रमा जानकारी गराइने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।
यस अघि जिल्ला अस्पतालमा ४ बेड, पिपरा अस्पतालमा २ वेड र चन्द्रौटास्थित स्वास्थ्य केन्द्रमा २ बेड गरी ८ वटा आइसोलेशन बेड तयार गरिएको छ । तौलिहवा अस्पतालमा कोरोना भाइरस संक्रमण लागेकी एक महिला स्वास्थ्यकर्मीलाई राखी उपचार सुरु गरिएको छ ।