डडेल्धुरामा ६ सय बढीको कोरोना जाँच
डडेल्धुरा : डडेल्धुरामा ६ सय बढीको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गरिएको छ । जिल्लामा हालसम्म दुबै विधिबाट ६ सय १८ जनाको कोरोना परीक्षण गरिएको हो ।
आइतबारसम्म पीसीआर विधिबाट २ सय ७३ जनाको र ३ सय ४५ जनाको र्यापिड टेस्ट गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । हालसम्म डडेल्धुराका दुईजनाम र्यापिड टेस्ट पोजेटिभ देखाएको थियो । उनीहरूको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड- १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।
आइतबारसम्म जिल्लाभरी १ सय १९ जना क्वारेन्टाइनमा बसिरहेका छन् । अजयमेरु गाउँपालिकाको क्वारेन्टाइनमा ४४ जना, परशुराम नगरपालिकामा ३४, भागेश्वर गाउँपालिकामा २१, आलिताल गाउँपालिकामा ८ अमरगढी नगरपालिकामा ७ जना र नगदुर्गा गाउँपालिकामा ५ जना रहेको कोभिड १९ सम्पर्क व्यक्ति भट्टले बताए ।
तीमध्ये धेरै व्यक्ति स्वास्थ्य परीक्षणपछि घर गएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । भारतबाट आएका मानिसलाई १५ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षणपछि कोभिड १९ नेगेटिभ देखिए पछि मात्रै घर जान दिइएको हो ।
प्रतिक्रिया दिनुहोस !