विदेशबाट आएकालाई राख्न ‘होल्डिङ एरिया’

विदेशबाट आएकालाई राख्न ‘होल्डिङ एरिया’

विराटनगर : भारतसहित तेस्रो मुलुकबाट नेपाल आउनेहरूको व्यवस्थापनका लागि प्रदेश १ सरकारले सीमानामा रहेका जिल्लाहरूमा ५ हजार क्षमताको ‘होल्डिङ एरिया’सहितको क्वारेन्टाइन निर्माण गर्ने सुरु गरेको छ।

लकडाउन क्रमशः खुकुलो बनाउँदै जाने केन्द्र सरकारको तयारीलाई मध्यनजर गरी प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामको पशुपती नगरमा ‘होल्डिङ एरिया’सहितको क्वारेन्टाइन निर्माण सुरु गरिएको हो।

प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यो अहिलेको क्वारेन्टाइनभन्दा अझै व्यवस्थित बन्ने बताए। एक जिल्लाबाट अर्को जिल्लामा जानेभन्दा भारत र अन्य देशबाट आएकालाई यो स्थानमा स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परे त्यहाँ नै निर्माण गरिएका क्वारेन्टाइनमा निश्चित समयसम्म राख्ने गरी धेरै क्षमताको होल्डिङ एरिया निर्माण सुरु गरिएको मन्त्री कार्की बताउँछन्। ‘अबको चुनौती भनेको कोरोना संक्रमण नफैलियोस भन्ने हो, लकडाउन क्रमशः खुला हुँदै जाने भएकाले हामीले यो लक्ष राखेर काम सुरु गरेका हौं,’ मन्त्री कार्कीले भने।

प्रदेश १ मा भारतसहित तेस्रो देशबाट भित्रने मुख्यद्वार नै झापा, मोरङ, सुनसरी र इलामको नाका र विमानस्थल भएकाले यो क्षेत्रमा पहिले ‘होल्डिङ एरिया’को तयारी गरिएको हो। ‘पहाडी ११ जिल्लामा कति भारत र कति तेस्रो देशबाट आएका छन्, त्यसको लगत संकलन गरेरमात्र क्वारेन्टाइनको व्यवस्थापन गर्ने तयारी छ,’ मन्त्री कार्कीले भने, ‘सुनसरी, झापा, मोरङ र इलाममा होल्डिङ एरियासहित ५ हजार क्षमताको क्वारेन्टाइन निर्माण भइ पहिलो चरणमै सुरु गरेका छौं।’ अब बैदेशिक रोजगारी तथा भारतबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न समस्या नहुने उनको तर्क छ।

भारतमा ठूलो संख्यामा नेपालीहरू रहेको र त्यहाँबाट नेपाल ल्याउनुपर्ने अवस्थामा त्यसलाई व्यवस्थित गर्नको लागि हरेक स्थानीय तहमा क्वारेन्टाइन नचाहीने भएकोले एक जिल्लामा एक क्वारेन्टाइन आवश्यक भए पुग्ने प्रदेश सरकारको विश्लेषण छ। विभिन्न देशहरूले त्यहाँ रहेका नेपालीलाई धमाधम फर्काउने तयारी गरीरहेको र त्यस्ता नागरिक ठूलो संख्यामा रहेकाले उनीहरूलाई नेपाल ल्याएर व्यवस्थापन गर्नेमा नेपाल सरकारलाई चुनौती छ।

प्रदेश सरकारले आफ्नो प्रदेशमा विदेशबाट भित्रने नेपालीको अनुमान गरेर हाल पाँच हजार अट्ने होल्डिङ एरिया निर्माण सुरु गरेको जनाएको छ। पछि थपिने क्रम बढे यस्ता स्थान थप्दै लैजानेसमेत तयारी छ। ‘प्रदेश १ मा विदेशबाट आएकालाई व्यवस्थापनमा कमजोरी हुन नदिने हाम्रो लक्ष हो,’ प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने ‘प्रत्येक जिल्लामा पनि पछि यस्तो स्थान निर्माण गर्न सकिन्छ।’ झापा, मोरङ, सुनसरी र इलामका जिल्ला प्रशासन कार्यालयलाई यो निर्माण गर्न बजेट र सर्कुलर जारी गरेकाले काम धमाधम भइरहेको मन्त्री कार्कीले बताए।

‘कोही भोकै हुँदैनन्’

लकडाउन लम्बिदै जाँदा खाद्यान्न सकिएर राहतको आशामा रहेका कोही पनि भोकै हुन नदिन प्रदेश १ सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ। उनीहरूका लागि आवश्यक पर्ने खाद्यान्न र दैनिक उपभोग्य वस्तु समयमा पुर्‍याउन र नपुगे प्रदेश सरकारसँग सम्पर्क गर्न सर्कुलर जारी गरेको प्रदेश सरकारले जनाएको छ।

स्थानीय पालिकाहरू सुरुदेखि नै राहत वितरणमा हौसिएकोले दोस्रो चरणबाटै समस्या देखिन थालेको बताउँदै मन्त्री कार्कीले प्रदेश सरकारले कोही पनि नागरिकलाई भोकै नराख्ने रणनीती बनाएकोले नागरिक भोकै नहुने स्पष्ट पारे। पहिलो चरणमा प्रदेश सरकारले दामासाहीको हिसाबबाट सबै पालिकामा रकम पठाएकोमा आगामी दिनमा भने सबै पालिकामा रकम नबाँड्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.