संक्रमित स्वास्थ्यकर्मीका घर परिवारसहित सम्पर्कमा रहेका ८५ जनाको रिपोर्ट 'नेगेटिभ'
कपिलवस्तु : कपिलवस्तु अस्पतालमा कोरोना भाइरस संक्रमित स्टाफ नर्सका घर परिवार र उनीसँगै सम्पर्कमा रहेका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ।
संक्रमित स्टाफ नर्सको कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा कपिलवस्तु अस्पतालमा स्वास्थ्यकर्मीको परिवारका सदस्य र चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको गरी १ सय ४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाएको थियो। जसमध्ये ८५ जनाको रिर्पोट नेगेटिभ रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
कोरोना संक्रमित स्टाफ नर्सको घरका आमा, बुवा, भाई र बहिनी गरी ५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। जसमध्ये सबैको रिर्पोट नेगेटिभ आएको छ। स्वाब संकलन गरिएकामध्ये १९ जनाको परीक्षण भइरहेको र चाडै नै रिर्पोट सार्वजनिक हुने फोकल पर्सन थापाले बताए।
स्वास्थ्य कार्यालयले महाराजगंज नगरपालिकाबाट ७ जना पत्रकारसहित १ सय ८ जनाको स्बाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाएको छ। यसैगरी कृष्णनगर क्षेत्रमा संक्रमित ४ जना सुरक्षाकर्मीसँग सम्पर्कमा आएका सशस्त्र प्रहरीका १ सय ५२ जना, नेपाल प्रहरीका ७२ जना, राष्ट्रिय अनुसन्धानका १ जना, पत्रकार १० जना र अन्य १५ जना गरी २ सय ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।