प्यूठानमा लकडाउनमा काठ ढुवानी, प्रशासनको सेटिङ भएको भन्दै स्थानीयको विरोध
प्यूठान : लकडाउनको बेला काठ बोक्ने दाङका ट्रक प्यूठानमा भित्रिएको भन्दै स्थानीयले विरोध गरेका छन् । दाङ भालुवाङहुँदै सात ठाउँका प्रहरी चौकी पारगर्दै ५ वटा ट्रक झिमरुक गाउँपालिका १ सौतामारेफेदीस्थित कोइलीखोलामा पुगेका हुन् । स्थानीयले विरोध गर्दागर्दै पनि ट्रकमा काठ ढुवानी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले गणपती भेनिएर तथा प्लाइउड उद्योग घोराहीलाई 'काठ ढुवानीका लागि सवारीपास जारी गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थका अनुसार उक्त उद्योगलाई सवारीपास दिइएको छैन् । तर अनुमतीविना नै ट्रकमा काठ ढुवानी भइरहेको छ । 'उक्त उद्योगलाई सवारी पास दिएका छैनौं, 'प्रमुख जिल्ला अधिकारी पन्थले भने, 'यो अत्यावश्यक सेवामा पनि पर्दैन । यस्तो प्रकृतिको सवारी पास अहिलेसम्म कार्यालयबाट जारी भएको छैन् ।'
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसीले प्यूठान प्रशासनलाई सवारी पास मिलाइदिन आग्रह गरिएको जानकारी दिए । 'काठ ढुवानीका लागि सवारी पास दिने वा नदिने प्यूठानकै अधिकार हुन्छ, 'उनले भने ।
जिल्ला बाहिरबाट आएका मजदुरका कारण कोरोनाको जोखिम हुनसक्ने भन्दै झिमरुक गाउँपालिका क्षेत्रका स्थानीयले चर्को विरोध गरिरहेका छन् । 'विरोध हुँदाहुँदै किन काठ लोड गरियो ?,'झिमरुक १ का स्थानीय लिला जिसीले प्रश्न गरे, '३०÷४० जना मजदुरले काठ लोड गरिरहेको देखियो, सावधनी पनि गरिएको थिएन ।'
प्रहरी प्रशासनकै सेटिङमा काठ ढुवानी भएको हुनसक्ने झिमरुक क्षेत्रका स्थानीयले आरोप लगाएका छन् । आधिकरीक अनुमती प्राप्त पत्र बिना नै प्रहरीले किन पास दिएको भन्दै स्थानीयले प्रश्न गरेका छन् ।
सोही प्रकृतिको उद्योगलाई यसअघि जिल्लामा काठ ढुवानीका लागि अनुमति नपाइएको प्यूठानका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । 'हामीले काठ लिन खोज्दा अनुमति दिइएन, न्यू सुपादेउराली समिर तथा भेनियर उद्योग प्यूठान नगरपालिका ८ का संचालक खेम अधिकारीले भने, 'दाङका उद्योगलाई निर्वाध रुपमा चल्न दिइएको छ । यो विभेद भएन र ?'