कोरोनाका कारण पालोमा कार्यालय
डडेल्धुरा : नेपालमा पनि कोरोना भाइरसका संक्रमितको संख्या दिनानु दिन बढ्न थालेपछि डडेल्धुराका स्थानीय तहमा रहेका सरकारी कर्मचारीलाई पालो लगाएर कार्यालय आउनु पर्ने बनाइएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि डडेल्धुराको अमरगढी नगपालिकाले मातहतका कर्मचारीलाई एक सुचना जारी गरी कोभिड १९ को समयमा सेवा प्रदान गर्न पालोमा कार्यालय हाजिर हुने गरी सुचना जारि गरेको छ ।
अन्य सरकारी कार्यालयमा अतिआवश्यक कामका लागि कार्यालय खुलने गर्दछन् । अन्य कार्यालयले काम परेको बेला वा अनिवार्य गर्नु पर्ने कामका लागि मात्रै कार्यालय जाने गरेका भए पनि अमरगढी नगरपालिकाले भने आफ्ना कर्मचारीलाई पालोमा आउन सुचना जारी गरेको हो ।
विषयगत कार्यालयका प्रमुखहरुलाई अमरगढी नगरपालिकाले बैशाख ३१ गते नै सुचना जारी गरी कर्मचारीलाई पालोमा कार्यालय उपस्थित हुने जनाएको हो । जेठ १ देखि जेठ १६ सम्म लागु हुने गरी तीन समुह बनाइएको छ । जेठ १ देखि ९ गतेसम्म ९ जना, १६ गते सम्म ८ जना र सबै दिन अनिवार्य आउनका लागि १२ जना कर्मचारी खटाइएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्यायद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
सेवाग्राहीवाट कर्मचारीलाई कोरोनाको जोखिम
सदरमुकाममा मात्रै बस्ने कर्मचारी अमरगढी नगरपालिकामा काम गर्दैन्न । दुरदराजका गाउँबाट आउँदा बाटोमा सुरक्षाकर्मीको निगरानी र अन्यसँगको जनसम्पर्कका कारण कोरोनाको जोखिम बढेको एक कर्मचारीले बताए । कोरोनाको जोखिम कर्मचारीलाई रहेको र कार्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री पर्याप्त नभएको गुनासो कर्मचारीको रहेको छ ।
अमरगढीका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय भने जनाताको सेवा र अन्य कार्यमा असर नपुर्याउन काम गर्नु परेको बताउँछन् । उनी भन्छन्, ‘जनताको काम गर्नका लागि कोरोनाको वाहना गर्नु उचित होइन, कार्यालयमा सबै कुराको पर्याप्तता छ, सेवा दिन कर्मचारी तल्लिन बनौं, कृषि उपज र अन्य विकास निर्माणको वाधक कोरोना नबनाऔं ।’
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारी नीतिअनुरुप जनताको काम गर्न समाजिक दुरी कायम गरी जनताको हिँड्ने गरेको अमरगढीका कार्यालय प्रमुख बताउँछन् । उपाध्याय भन्छन्, ‘काम गर्न अल्छी गर्ने कर्मचारी वाहना गर्छन्, आफूसँग सम्वन्धित काम पूरा गर्नु पर्यो, जनतालाई सेवा दिन कन्जुस्याइ गर्नु भएन ।’
अमरगढी नगरपालिकामा आउने सेवाग्राहीबाट पनि कोरोना सर्न सक्ने र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीलेसमेत कार्यालयमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगरेको गुनासो कर्मचारीको छ ।
प्रतिक्रिया दिनुहोस !