‘कला बेचेको हो, स्वाभिमान होइन’

‘कला बेचेको हो, स्वाभिमान होइन’

काठमाडौं : नेपालले आफ्नो देशको नक्सा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले व्यक्त गरेको प्रतिक्रियाले अहिले राष्ट्रियताको बहस तातेको छ । त्यसमा पनि मनीषाको प्रतिक्रियापछि भारतीय सञ्चार माध्यम निम्छरो र तल्लो स्तरको गालीगलौजमा उत्रेपछि उनको समर्थनमा सर्वसाधारणदेखि सर्जक कलाकारहरू खुलेर अगाडि आएका छन् ।

‘कला बेचेको हो, स्वाभिमान होइन’, मनीषाकै पदचापमा प्रतिक्रियाको सागर उर्लेको छ । ‘पेसा फेर्न सकिन्छ तर स्वाभिमान फेर्न र बेच्न सकिन्नँ’ उनको समर्थनमा ताली बजिरहेको छ ।
कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले ट्विटमा लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीनवटै राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतीक्षामा छौं ।’

चीनलाई साथ दिएर भारतलाई गाली गरेको भन्दै मनीषामाथि भारतीय मिडिया खनिएका छन् । भारतीय एबीपी टेलिभिजनले ‘खाती भारतकी और गाती चीनकी’ भन्दै समाचार प्रसारण गरेको थियो । ‘मनीषाले जे जति नाम कमाएकी छन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्’, टेलिभिजन भन्छ । तर मनीषाले व्यक्त गरेको धारणले वास्तवमै तरंग ल्याएको छ ।

नेपालमा उनको समर्थनका सामग्री ट्रेन्डिङमा छन् । सामाजिक सञ्जाल ट्विटरको ट्रेन्डिङमा उनी लगातार एक नम्बरमा छिन् । ह्यास ट्याग ‘आई एम विथ मनीषा कोइराला’ ट्रेन्डिङ नम्बर एकमा छ ।

नायिका पूजा शर्माको अभिव्यक्ति छ, ‘मनीषा दिदीले भारतको नुन भिख मागेर खानु भएको होइन, आफ्नो कलाकारितामा उभिएर खानु भएको हो । दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो ।’ शर्माले कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसे पनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छन्, ‘जन्मदिने आमालाई पराइ ठानेर आफ्नै आमाको अंग लुछ्ने पराइलाई आमा भन्न सकिँदैन ।’

गायिका इन्दिरा जोशी भन्छिन्, ‘आफ्नो अद्भुत अभिनय क्षमताका कारण मनीषाले बलिउडमा थुप्रै योगदान दिएकी छन् । कर पनि तिरेकी छन् । क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । उनी सत्यको पक्षमा उभिएकी छन् ।’

यसै क्रममा नायक राजेश हमालले फेसबुकमा भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो । भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्नु आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्नु जरुरी छ ।’

‘जवाहरलाल नेहरूलाई वक्तव्य सच्याउन बाध्य पार्ने बीपी, सगरमाथा नेपालको हो भनी तिब्बत अनि चिनियाँ शासक थर्कमान पार्दै सगरमाथा नेपालको प्रमाणित गर्ने बीपी, आज बीपी त हामीमाझ हुनुहुन्न तर उहाँको रगत नेपालकी चेली मनीषा कोइरालाको एक ट्विटले भारतभरि खैलाबैला मच्चायो, जय नेपाल’, केही सर्वसाधारणका फेसबुक वाल यसरी भरिएका छन् ।

यही क्रममा गायिका सुशीला पाठक भन्छिन्, ‘याद रहोस्, कलाकार अनि कलाको कुनै भौगोलिक सिमाना हँुदैन । देशको माया कसलाई पो लाग्दैन र अभिनेत्री मनीषा कोइरालाका शब्दप्रति सम्मान । जुनसुकै देशमा बसे पनि आत्मसम्मानमा आँच आउन नदिनु नै एउटा सच्चा नेपालीको पहिचान हो ।’

एउटा कलाकारको अभिव्यक्ति कति शक्तिशाली हुँदो रहेछ भन्ने उदाहरण पनि हो मनीषाको कदम । हास्य कलाकार किरण केसी भन्छन्, ‘बाँचिदिन सक्छु तिम्रो लागि, मरिदिन सक्दिनँ, नेपाली छोरी मनीषालाई सलाम छ, जय नेपाल आमा ।’

‘यो भारत एउटा रुञ्चे देश हो, भारतमै बस्ने जनताले ‘गोर्खाल्यान्ड’ मागे पनि रुन्छ । हामीले त के मागेका छौं र लिम्पियाधुराको आफ्नै भूमिमा धर्का कोरेका हौं, रुन थालिहाले गोदी मोदीका पत्रकारहरू । यदि हामीले हाम्रा सबै वीर, बहादुर सैनिक फिर्ता ले भनेर माग्यौ भने यसले रुन छोडेर सुक्साउन थाल्छ । यो आफ्ना छिमेकमा ‘महाभारत’ मच्चाइरहन मन पराउने देश हो, निर्देशक प्रकाश सायमीको विश्लेषण छ ।

यता हास्यकलाकार दीपकराज गिरी मनीषालाई समर्थन गर्दै बलिउडमै काम गरिरहेका केही नेपाली कलाकारमाथि व्यंग्यसहित उपस्थित भएका छन्,

‘मनीषा कोइराला पहिलो नेपाली कलाकार हुन् जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनीषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन । मनीषाले गरेको ट्विटलाई भारतीय मिडियाले ‘ट्विस्ट’ गरे ।’

‘कति प्रभावकारी हुने रहेछ एउटा कलाकारको आवाज !! सरकार योजनाबद्ध रूपमा कूटनीतिक पहल गरोस् । हाम्रो कर्तव्य हाम्रो भूमिबाट भारत आफैं फिर्ता हुने अवस्थाको सिर्जना गर्नेतर्फ दबाब दिनु हो’, चलचित्र निर्देशक तीर्थ थापा भन्छन् ।

साहित्यकार नरेन्द्रराज प्रसार्इं भन्छन्, ‘मनीषाको जय होस् । भारतले नेपाल र नेपालीलाई बाहिरबाहिर गुलियो चटाउँदै भित्रभित्रै धीमा विष चाहिँ नखुवाए हुने ! बेलाबखतका यस्तै कृत्यका कारण भारतीय नीति नेपालीका लागि सह्य नभएको हो । अहिले नेपाल र भारतको सीमा विवाद चुलिँदै आइरहेको छ । यस्तो बेला नेपालकी एकजना गौरवी नारी मनीषा कोइरालाको जय जयकारमा नेपालीहरूको एक मत देखिएको छ ।’ नाट्यकर्मी राजेन्द्र रिमाल भने मनीषाको पक्षमा उभिँदै अर्को पक्ष पनि कोट्याउँछन्, ‘भारतीय मिडियाले बारम्बार नेपाललाई ‘छोटा भाइ, छोटा भाइ’ भन्छ । कसरी हौं ?    लौ न बताइदिनु प¥यो । जुन देशको जन्म भएको एक सय वर्ष पनि पुगेको छैन, त्योभन्दा अगाडि त ब्रिटिसको कोलोनी मात्र थियो, त्योभन्दा अगाडि राजपुताना, अवध, मराठा, पञ्जाब आदि जस्ता देश थिए । ब्रिटिसहरू गएपछि मात्र नामकरण भएको त्यो देशले आजभन्दा एक हजार वर्षभन्दा अगाडि नै जन्मिसकेको देशलाई छोटा भाइ भन्ने ?    ’

नायिका ऋचा शर्मा भन्छिन्, ‘चाहे ‘१९७४ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’, मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जमाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समयसमयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै विदेशी दलाल भनेर दुत्कार्दैन ।

म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् । तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुई पैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.