पाटन र अल्का अस्पतालमा दुई बिरामीको मृत्यु
ललितपुर : शुक्रबार पाटन अस्पतालको आइसोलेसनमा रहेका एकजना बिरामीको मृत्यु भएको छ । त्यस्तै अल्का अस्पतालमा पनि ६५ वर्षीय पुरुषको मुत्यु भएको स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।
प्यान्क्रियाज क्यान्सरका कारण अल्कामा उपचार गर्न आएका पुरुषमा ज्वरो आएको अस्पतालले जनाएको छ ।नवलपरासीबाट उपचारका लागि आएका उनको शुक्रबार निधन भएको हो ।
स्वास्थ कार्यालय ललितपुरका प्रमुख गेलालका अनुसार ज्वरो आएका कारण उनको स्वाब बिहीबार नै पीसीआर परीक्षण गर्न पठाए पनि रिपोर्ट आएको छैन। क्यान्सरका कारण मृत्यु भएको हुनसक्ने उनले बताए ।
यस्तै पाटन अस्पतालमा मृत्यु भएका बिरामी अन्य रोगको उपचार गर्न आएका थिए।पाटन अस्पतालका निर्देशक डा.बिष्णु शर्माका अनुसार बिरामी आइसोलेसनमा रहेको र उनको कोरोना परीक्षण भइसकेको छ। बिरामीको के कारणले मृत्यु भएको हो भन्ने बारे अस्पतालमा बैठक चलिरहेको छ। हाल पाटन अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।