बजेट अधिबेसन सुरु गर्न सांसदको स्वाव संकलन
विराटनगर : प्रदेश १ को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु गर्न प्रदेश सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वाब संकलन गर्न सुरु भएको छ। समयमानै बजेट अधिवेशन सुरु गर्न कोरोना परीक्षणसहित अन्य व्यवस्थापन भइरहेको संसद सचिवालयले जनाएको छ।
यस अघि दूरी कायम गरी सांसद र सञ्चारकर्मी बस्ने स्थानको व्यवस्थापन र पुर्ननिर्माण सकिएको र शुक्रबारबाट संसदमा उपस्थित हुने सबैको स्वाब संकलन गर्न थालिएको हो।
प्रदेशसभाको बैठकमा सहभागी हुने ९३ सांसद, करिब १ सय प्रदेशसभा सचिवालयका कर्मचारी, २० भन्दा बढी सांसदका चालक, सुरक्षाकर्मी र संसदीय रिपोर्टिङमा खटिन २० पत्रकारको स्वाब संकलन थालिएको सचिवालयले जनाएको छ।
पहिले सञ्चालन हुँदै आएको संसद भवनमानै संसद बैठक सञ्चालन गर्ने तयारी भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। यसपटक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेशसभा भवन भित्र प्रवेश निषेध गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
कोरोना परीक्षण पछि प्रदेश बजेट अधिवेशनभर सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन र होम क्वारेन्टाइनमा नै बस्न प्रदेश सभामुख भण्डारीले आग्रह गरेका छन्।
सभामुख भण्डारीले बजेट अधिवेशनलाई छोटो बनाउन आग्रह गरिएको र अत्यावश्यक विधेयकबाहेक बजेट मात्र पास गराउने तयारी भइरहेको जानकारी दिए।
अबको बैठक हलमा करिब ६० जना सांसद मात्र बस्न सक्नेछन्। बाँकी सांसदका लागि नेकपा संसदीय दलको कार्यालयमा ३३ जनालाई राखेर भिडियो कन्फरेन्सिङ मार्फत बैठकसँग जोड्ने तयारी गरिएको छ।