रामेछापका संक्रमित परिवारको कोरोना रिपोर्ट नेगेटिभ, ५ जनामा आरडीटी पोजिटिभ
काठमाडौं : रामेछाप जिल्लामा कोरोना संक्रमण पुष्टि भएका युवकको परिवारसहित अन्यको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लामा अहिलेसम्म र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्दा ५ जनाको रिपोर्ट मात्रै पोजिटिभ देखिएको हो।
शुक्रबार दिउँसोसम्म ३५ जनाको पिसिआर विधीबाट र ४६२ जनाभन्दा बढीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको र्यापिड टेस्ट गरिएको छ। जिल्लामा ९ जना महिला र २६ जना पुरुषको पिसिआर, ७६ महिला र ३८६ पुरुषको आरडीटी विधीबाट परीक्षण गरिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए। कर्णले भने, 'शुक्रबाट २ बजे रिपोर्ट पठाएपछि पनि अन्यको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको थियो जसमध्ये ५ जनाको पोजिटिभ आएको हो, बाँकी विवरण शनिबारको रिपोर्टमा अध्यावधिक हुन्छ।'
शुक्रबारकै परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र, मन्थलीमा ४ जना र सुनापति गाउँपालिका - १ गुन्सीमा भएको आरडिटी परीक्षणमा १ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। कर्णका अनुसार उनीहरुको स्वाब संकलन गरी पिसिआर विधीबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा पठाइएको छ। उनीहरु स्वास्थ्यकर्मी र कर्मचारी हुन्।
कुन पालिकामा कति परीक्षण ?
स्वास्थ्य कार्यालय रामेछापका अनुसार शुक्रबार २ बजेसम्म जिल्लामा ४ सय ६२ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) र ३५ जनाको पिसिआर विधीबाट परीक्षण भएको छ। कार्यालयका अनुसार मन्थली नगरपालिकामा १७६ जनाको आरडीटी र ६ जनाको पिसिआर, रामेछाप नगरपालिकामा ४४ जनाको आरडीटी र १४ जनाको पिसिआर, खाँडादेवी गाउँपालिकामा ६४ जनाको आरडीटी र १५ जनाको पिसिआर, सुनापति गाउँपालिकामा ४४ जनाको आरडीटी, गोकुलगंगा गाउँपालिकामा ४१ जनाको आरडीटी, उमाकुण्ड गाउँपालिकामा १६ जना, दोरम्बा गाउँपालिकामा १५ जनाको आरडीटी, लिखु तामाकोसी गाउँपालिकामा ६ जना र जिल्ला स्वास्थ्य कार्यालयको २ जनाको आरडीटी विधीबाट परीक्षण गरिएको हो। परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको हो।
जिल्लाका दुई जना संक्रमित
रामेछाप जिल्ला स्थायी बसोबास भइ काठमाडौं उपत्यकामा रहँदै आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ। खाँडादेवी गाउँपालिका - १ राकाथुमका २३ वर्षीय युवकलाई कोरोना पोजिटिभ देखिएको हो। काठमाडौंको एक होटलमा काम गर्ने युवक लकडाउन भएसँगै चैत्र ११ गतेदेखि नै रामेछाप आएर बसेको र राकाथुमबाट वैशाख ३० गते काठमाडौं फर्किएका हुन्। उनको अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।
संक्रमित व्यक्तिका आफन्त काठमाडौंमा तरकारी, खाद्यान्न लगायतका सामान ढुवानी गर्ने भएकाले उनी पनि विभिन्न स्थानमा सँगै हिँडेपछि घरबेटीले कोरोना परीक्षणपश्चात मात्रै कोठामा आउन आग्रह गरेकाले उनी टेकुमा चेकजाँच गर्न गएका थिए। स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा मंगलबार पोजिटिभ देखिएको हो।
मंगलबार रातिनै चिकित्सकको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएर परीक्षण गर्दा बिहीबार साँझ परिवारसहित सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाका विभिन्न क्षेत्रमा स्वाब संकलन गरी पठाइएकोमा सबैको रिपोर्ट पनि नेगेटिभ आएको हो।
यस अगाडि रामेछाप स्थायी घर भएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए।
कुन पालिकामा कति जना छन् क्वारेन्टाइनमा ?
रामेछाप जिल्लामा शनिबार बिहानसम्ममा क्वारेन्टाइन र होम क्वारेन्टाइन गरी कूल ६९ जनालाई बसिरहेका छन्। स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका २१ जना क्वारेन्टाइन र ४८ जना होम क्वारेन्टाइन बसिरहेको जानकारी दिए।
कर्णले भने, 'हाल गोकुलगंगा गाउँपालिकामा १४ जना क्वारेन्टाइनमा बसेकासहित १५ जना, उमाकुण्ड गाउँपालिकामा २१ जना क्वारेन्टाइनमा, मन्थली नगरपालिकामा ६ जना क्वारेन्टाइनमा सहित १५ जना, खाँडादेवी गाउँपालिकामा होम क्वारेन्टाइनमा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा बसेका छन्।' उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ।
कुन स्थानीय तहमा कति आइसोलेसन र क्वारेन्टाइन बेड ?
जिल्ला स्वास्थ्य कार्यालय रामेछापकाअनुसारव विभिन्न स्थानीय तह र अस्पतालमा ७१ वटा आइसोलेसन बेड र ३३१ क्वारेन्टाइन बेड निर्माण भएका छन्। कार्यालयकाअनुसार रामेछाप नगरपालिकामा १७ आइसोलेसन बेड र ७० क्वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र ३६ क्वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड र २६ क्वारेन्टाइन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४७ क्वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा ५ आइसोलेसन बेड ३४ क्वारेन्टाइन बेड, लिखु गाउँपालिकामा ३ आइसोलेसन बेड र ४९ क्वारेन्टाइन बेड निर्माण भएका छन्।