कृष्णदासले बनाएको आश्रम र योगाहललाई क्वारेन्टाइन बनाइने
इटहरी : प्रदेश १ सरकारले बराहक्षेत्रस्थित कृष्णदासको आश्रममा बनेको योगा हल र आवास गृहलाई क्वारेन्टाइनका लागि प्रयोग गर्ने भएको छ। रामानन्दचार्य सेवापिठअन्तर्गत चतरामा रहेको उक्त हलमा २०० सय बेडको क्वारेन्टाइन बनाउने निर्णय भएको हो। सेवापिठले सुरक्षाको राम्रो व्यवस्था गर्ने शर्तमा भवन प्रयोग गर्न दिएको पिठका अध्यक्ष गणेश सुब्बा बिरहीले बताए।
सेवापिठका संरक्षक कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरी बलात्कारको आरोपमा जिल्ला कारागार झुम्कामा पुर्पक्षका लागि थुनामा छन्। यसपछि उक्त संरचना सरकार माताहत ल्याउनुपर्ने माग उठ्ने गरेको थियो। बराहक्षेत्रमा रहेको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय प्रदेश सरकारले गरेको थियो। निर्णय सच्याएर बराहक्षेत्रमै रहेको कृष्णदासको आश्रमलाई प्रयोग गर्न स्थानीयले सुझाएका थिए।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मागेपछि स्थानीयहरुको भेलाबाट भवन प्रयोग गर्न दिने निर्णय भएको बिरहीले जानकारी दिए। ३ देखि ४ सय मानिस अट्ने योगाहलमा योग तथा साधनाका ठूला कार्यक्रमहरु हुने गरेका थिए। केही समयअघि प्रदेश सरकारका मन्त्रीहरुलाई कृष्णदासले सोही हलमा योग साधना गराएका थिए। यस्तै राष्ट्रपतिलेसमेत सोही हलमा आयोजित कार्यक्रममा सम्बोधन गरेकी थिइन्।विरहीका अनुसार योग हलसँगै ६० कोठाको अर्को आवास गृह पनि क्वारेन्टाइनका लागि प्रयोग हुनेछ।
अहिले सेवापिठक क्षेत्रमा १३२ कोठासहितका तीनवटा भवन बनेका छन्। ४० देखि ४५ जना भक्तहरु बसिरहेको जनाउँदै त्यसमध्ये ६० कोठाको एउटा भवनमा डाक्टर र सुरक्षाकर्मी बस्न दिने गरी निर्णय भएको विरहीले बताए।
बराहक्षेत्र १ का वडाध्यक्ष सुरेशमान श्रेष्ठले आवश्यक पूर्वाधारको व्यवस्था गरेर प्रदेश सरकारले क्वारेन्टाइन बनाउने जानकारी दिए। केही दिनअघि बराहक्षेत्रमा कार्यरत मोरङका एक सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।