चिया निकासीमा भारतको अवरोध : श्रमिक र व्यवसायी मारमा

चिया निकासीमा भारतको अवरोध : श्रमिक र व्यवसायी मारमा

काठमाडौं : भारतले नेपालको प्रमुख निर्यात वस्तु चिया आयातमा अवरोध गरेको छ। उसले केही साताअघि मात्रै नेपालबाट पाम आयल आयात गर्ने भारतीय आयातकर्ताहरूको लाइसेन्स खारेज गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन्। लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुहरूको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारततर्फको निकासीमा समस्या देखिएको मन्त्रालयले जनाएको छ। भारतीय भन्सारले चिया भित्रिन रोक्नुको स्पष्ट कारण भने खुलाएको छैन।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मन्त्रालयलाई आवश्यक सहजीकरणका लागि अनुरोध गरेको छ। सोहीअनुसार मन्त्रालयले परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासलाई सहजीकरण गर्न पत्राचार गरेको हो।

नेपालबाट निकासी हुने सामान भारतीय पक्षले विभिन्न बहानामा रोक्ने गरेको छ। भारतीय वस्तु भने अत्यावश्यक जाँचबिना नै निर्बाध रुपमा नेपाल भित्रिने गरेको छ। भारतको पश्चिम बंगाल सरकारले लकडाउनसँगै काँकडभिट्टा नाकाबाट हुने निकासीमा कडाइ गर्दै आएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए। ‘भारतसँग कृषिजन्य वस्तु आयात–निर्यातमा रोकावट नगर्ने समझदारी भए पनि पश्चिम बंगाल सरकारले अवरोध गरेको अनौपचारिक प्रतिक्रिया केन्द्र सरकारका अधिकारीहरूबाट सुनिएको छ’, उनले भने।

लकडाउनको समयमा भारतको निकासीसमेत प्रभावित भएकाले भारतमा दार्जिलिङकै चिया उपभोग गर्ने नीतिअनुसार नेपालको चियालाई अवरोध गरेको जनाइएको छ। काँकडभिट्टाबाट चिया पठाउन समस्या भएपछि जोगबनी नाकाबाट निकासीको तयारी छ। ‘भारत सरकारले नीतिगत रूपमा नेपालबाट चिया आयात नगर्ने निर्णय नगरे पनि निकासीमा समस्या भइरहेको छ’, बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने।

केही व्यवसायीले ल्याब परीक्षणको प्रतिवेदन नदेखाउँदा भारतीय भन्सारले रोकावट गरेको अनौपचारिक जानकारी पाएको उनको भनाइ छ। चियाको सबैभन्दा राम्रो उत्पादनको सिजन ‘फस्र्ट फल्स’ सकिन लाग्दा पनि चिया बजारमा पुग्न सकेको छैन। गुणस्तरीय चिया उत्पादन हुने समयमा तयारी चिया खरिदकर्तासम्म पुग्न नसक्दा उत्पादकले अपेक्षाकृत मूल्य पाउन समस्या परेको देखिन्छ।
दोस्रो अधिक उत्पादन सुरु हुने समयसम्म पनि पहिलो चरणको उत्पादन नै बजारमा नपुग्दा उत्पादकहरु मूल्यमा गिरावट आउने त्रासमा छन्। नेपाली चिया र दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले नेपाली चियालाई विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायी बताउँछन्। चैतमा सुरु भएको चियाको सिजनमा भारतले अवरोध गरेको चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए। ‘दार्जिलिङको चियाको तुलनामा नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको हुन्छ’, उनले भने।

नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले पानीट्यांकी भन्सार कार्यालयबाट चिया निकासीमा समस्याले यस क्षेत्रमा आश्रित श्रमिक र व्यवसायी मारमा परेको बताए। उनका अनुसार पूर्वका कुनै पनि नाकाबाट चिया जान पाएको छैन। ‘भारतको भन्सारले लकडाउनको बहाना बनाएको छ। तर, नेपाल र भारतबीचको समझदारीअनुसार चिया निकासीमा रोकावट गर्न पाइँदैन’, उनले भने।

नेपालको चिया २८ भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ। नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकमबराबरको चिया निकासी हुने गरेको भन्सार विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.