गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेचेको भन्दै स्थानीयको विरोध

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेचेको भन्दै स्थानीयको विरोध

धादिङ : दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको बेला खरिद गरेर राखेको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । गत मंगलबार पनि चामल लिन आएको ट्रकमा स्थानीयले लोड गर्न दिएका थिएनन् भने बिहीबार दिउँसो पनि चामल लिन ट्रक आएपछि स्थानीयले घेरा हालेर विरोध गरेका हुन् ।

गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको  ५ मा रहेको चन्द्रोदय माविको भवनमा चामल गोदाम गरेर राखेको थियो । ट्रकमा लोड भइसकेको ५०÷६० बोरा चामल स्थानीय आफैले अनलोड गरेर गोदाम बनाइएको विद्यालयमा ताला लगाइदिएका छन् ।

तर गाउँपालिकाले भने व्यापार गरेको नभइ लकडाउन लम्बिँदै जाँदा पालिकालाई आवश्यक पर्न सक्छ भनेर व्यापारीसँग  साझेदारीमा स्टक राखिएको चामल व्यापारीलाई फिर्ता गर्न लागेको जनाएको छ ।

गाउँपालिकाले लकडाउन सुरु भएको दोस्रो हप्तादेखि नै चामल खरिद गरि राहतस्वरुप वितरण गर्दै आएको थियो । लकडाउन लम्बिँदै जाँदा भविष्यमा आइपर्ने सम्भावित संकटको लागि चामल खरिद गर्ने र गाउँपालिकालाई आवश्यक नभएको खण्डमा व्यापारीले नै बेच्ने सम्झौता व्यवसायीसँग भएको र अहिले तत्कालको लागि चामल आवश्यक नभएकाले व्यापारीलाई नै फिर्ता गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले जानकारी दिए ।

उनले भने, 'लकडाउन लम्बिँदै जाँदा चामलको संकट हुन सक्ला, हाम्रो पालिकामा अधिकांश मजदुर र सिमान्तकृत जाती बस्छन्, हाहाकार नै भयो भने काम लाग्न सक्छ भनेर व्यवसायीलाई केही पेस्की रकम दिएर खरिद गरिएको हो।'

पालिकालाई आवश्यक नहुँदा उसैले विक्री वितरण गर्ने सम्झौता थियो । त्यहीअनुरुप चामल गाउँपालिकाले गोदाम गरेको हो, अहिले चामलको अभाव पनि छैन, गोदाममा राखिराख्दा सड्ने सम्भावना भएकाले व्यापारीलाई बेच्नु भनेका हौँ,' उनले भने।'

गाउँपालिकाले बेनिघाटकै स्थानीय व्यापारिक फर्म जयश्री जय गणेशमार्फत सम्भावित संकटको लागि भनेर चामल गोदाम गरेको घिमिरेले बताए । लकडाउनको वीचमा गाउँपालिकाले २ हजार ८ र ९२ घरधुरीको लागि खाद्यान्न राहत वितरण गरेको थियो । 

लकडाउनले खुकुलो बन्दै गएकाले अब चामलको आवश्यक नपर्ने र सड्न सक्ने भएकाले व्यवसायीले बिक्रीका लागि अनुमति दिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले भने, 'गाउँपालिकालाई आवश्यक परेको बेलामा व्यापारीले सुपथ मुल्यमा बेच्ने, आवश्यक नभए गाउँपालिकाले दिएको पैसा फिर्ता गर्ने र चामल लैजाने सम्झौता अनुरुप हामीले २० लाख पेश्की दिएका थियौँ । त्यही अनुसार चामल खरिद गरेर वितरण पनि गर्‍यौँ । बाँकी रहेको चामल सड्न सक्ने भएकाले फिर्ता गरेका हौँ । यसमा नाफा घाटाको कुनै कारोवार गाउँपालिकाले गरेको छैन ।'

स्थानीयले भने गाउँपालिकाले खरिद गरेको चामल व्यापारीले बेच्न लागेको भन्दै आपत्ति जनाएका हुन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, 'पहिले गाउँपालिकाको पैसामा सस्तोमा चामल किनेर राखियो, अहिले जताततै चामलको अभाव भएपछि व्यापारीसँग मिलेर महङगोमा बेच्न खोजियो, गाउँपालिकाले कुनै एउटा व्यवसायीसँग  मिलेर व्यापार गर्न पाइन्छ ? लकडाउन लम्बिँदै छ, आफूलाई आवश्यक पर्दा के गर्ने कहाँबाट ल्याउने ?'

गाउँपालिकाको गोदाममा हाल ३० केजीको २७सय ७७ बोरा चामल रहेको छ । लकडाउनको बीचमा करिब ६० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरिसकेको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.