यही भीडमा बुवा–आमासँगै भारतबाट आएकी थिइन् कोरोनाले ज्यान गुमाएकी बालिका
धनगढी : बाजुरा जिल्ला अस्पतालमा कोरोनाका कारण आइतबार बिहान ज्यान गुमाएकी दुई वर्षीया बालिका र उनका आमा–बुवा यही भीड छिचोलेर नेपाल प्रवेश गरेका थिए। भारतको मुम्बईबाट उनीहरु जेठ १३ गते गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन्। गौरीफन्टा नाकाबाट, सीमा नाका खुले यता जेठ १३ गते अहिलेसम्मकै सबैभन्दा बढी ५२ सय ४२ नेपाली स्वदेश फर्किएका थिए।
१३ गते बिहान १० बजेदेखि नाका खोलिएको थियो। भारतीय सुरक्षाकर्मीले पलियामा रोकर राखेका नेपाली चढेका सवारी साधन एकै पटक गौरीफन्टा नाकामा पठाएपछि नेपालतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे भएको थियो।
भारतमा लकडाउनको अवधिभर सुरक्षित बसेका पनि प्रचण्ड गर्मीमा यसरी भीड छिचोल्दै नेपाल प्रवेश गरेका थिए। १३ गते नै गौरीफन्टा बोर्डर नजिककैको डोके बजारस्थिति दशगजाबाट बसमा बाजुरा गएका उनीहरु, १४ गते मात्रै बुढीगंगा नगरपालिका १ स्थित धुलारालसैन माविको क्वारेन्टाइनमा पुगेका थिए।
१४ गते रातिदेखि नै बालिकालाई ज्वरो, खोकी र पखाला चलेपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको थियो। जिल्ला अस्पतालमा उपचाररत बालिका र आमाबुवाको थ्रोट स्वाब शनिबार मात्रै धनगढी पुगेको थियो।
क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा बालिका र आमाको रिपोर्ट पोजिजिभ आएको हो। मृतक बालिकाका बुवाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।
प्रहरीले भारतबाट आएका ५२ सय ४२ जनाको कन्ट्रया ट्रेसिङ गरेर भए पनि बसमा बाजुरा गएका र भारतबाट एकै बसमा आएकाको खोजी गर्ने भएको छ। 
प्रतिक्रिया दिनुहोस !